अब ओलीको उत्तराधीकारी को ? ५ नेताको दौडधुप

काठमाडौं । आफ्ना क्रियाकलापका कारण शीषर्थ नेताहरुले पार्टी छोडेर अर्कै पार्टी बनाएपछि प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफ्नो उत्तराधिकारी खोज्न थालेका छन् । ओलीले बेला बेलामा नेतृत्व परिवर्तनका कुरा सार्वजनिक रुपमै उठाउँदै आएका पनि छन् ।
ओलीले नेतृत्व परिवर्तन गर्ने तयारी गरेपछि नेताहरु आफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन् । ओली पछि नेतृत्व आफ्नो हातमा ल्याइ पुर्याउन ५ नेताहरु कम्मर कसेर लागेका छन् । महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा, तथा स्थायी समिति सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलले नेतृत्वमा पुग्न आफ्नो लविङ तिव्र बनाएका छन् ।
ओलीले भने ५ मध्यबाट कार्यकर्तालाई कसले संरक्षण गर्ने र पार्टी बलियो बनाउँछ भनेर अध्ययन गरिरहेका बताइन्छ । निकटस्थ स्रोतका अनुसार ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलाई विश्वास गर्न र पार्टी हाँक्ने नेताको रुपमा कार्यकर्ताले नरुचाएको रिर्पोट ओलीसामु पुगेको छ ।
पार्टी विभाजन नहुँदै नेकपामा अबको नेत्तृत्व ६० बर्ष वरिपरिको दोस्रो पुस्तामा हस्तान्तरण गर्ने प्रस्ताव ओलीले बैठकमा राखेका थिए । त्यसको अन्य नेताहरुले विरोध गरेका थिए । पार्टी विभाजन नहुँदै आफूपछि पार्टीको नेत्तृत्व दोस्रो पुस्तालाई दिनुपर्ने ओलीको प्रस्तावमा थियो । यो उमेर कायम भए ओली समूहका नेत्तृत्वका आकांक्षीहरु ईश्वर र सुवास स्वतः प्रतिष्पर्धाबाट बाहिरिन्छन ।
यसअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा पनि ओलीले नेतृत्व हस्तान्तरणको एजेण्डा अघि सारेका थिए । त्यसबेला ओलीलाई नेत्तृत्व दिन नहुने पार्टीभित्र बलियो जनमत थियो । तर नेत्तृत्व हस्तान्तरणको एजेण्डा अघि सारेपछि उनको पक्षमा एकाएक महोल भएको थियो ।
अब ओली समूहमा विष्णु, रामबहादुर र शंकरबीच नयाँ नेतृत्वका लागि लडाइ हुने देखिन्छ । नेतृत्व पाउने आसमा पूर्वमाओवादी समूहका रामबहादुर ओलीको समूहमा लागेका हुन् । भने विष्णु र शंकर ओलीका विश्वासपात्रका रुपमा पहिलाबाटै चिनिन्छन् । अहिले एक जना केन्द्रको अर्थमन्त्री र अर्को लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा कार्यरत छन् । दुवै लुम्बिनी प्रदेशका हुन् ।
पहिलो पुस्ताबाट नेत्तृत्व हस्तान्तरणको कसरत पहिलेदेखि नै हुँदै आएको थियो । पहिलो पुस्ताका नेताहरुबीच अनेकता र ब्यक्तित्व टकरावका कारण पार्टीमा ठूलो क्षति हुने सक्ने भएकाले अब नयाँ पुस्तालाई पार्टीको जिम्मा लगाएर पहिलो पुस्ता अभिभावकको भूमिकामा रहनुपर्छ भन्ने कुरा त्यतिबेलै प्रचारमा ल्याइएको थियो । यसमा सुरेन्द्र पाण्डे, भीम रावल, शंकर पोखरेल, योगेश भटराई, घनश्याम भुसाल, जनार्दन शर्मा, रामबहादुर थापा र बर्षमान पुनहरु सक्रिय थिए । तर विभाजनपछि ओलीलाई सहज भएको छ । यसको योजना पनि ओलीले तयार पारेका थिए ।