खाने तेलमा कालोबजारी, दुई उद्योग कारबाहीमा

बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारबाही गरिएको छ । वाणिज्य विभागले बजार अनुगमनका क्रममा अस्वाभाविक मूल्य बढाएको फेला परेपछि बारामा रहेका महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी र अन्नपूर्ण भेजिटेबल प्रालिलाई तीनरतीन लाख रुपैयाँ जरिवाना गरिएको हो ।
अस्वाभाविक मूल्य लिई उपभोक्ता ठगी गर्ने दुई उद्योगलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागले जनाएको छ । उद्योगलाई तत्काल मूल्य सच्याउनसमेत विभागले निर्देशन दिएको छ । उद्योगले लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था छ ।
पछिल्लो समय बजारमा व्यवसायीले खाने तेलको मूल्य अस्वाभाविकरूपमा बढाएर कालोबजारी गरिरहेका छन् । कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यवसायीले मनपरि ढंगले तेलको मूल्य बढाएका हुन् । बजारमा प्रतिलिटर तोलना २० देखि ४० रुपैयाँ बढेको छ ।
तोरीको तेलको मूल्य प्रतिलिटर ४०, सनफ्लावर तेल पनि लिटरमा ४० र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको छ । चाडपर्वपछि लगातार तेलको मूल्य वृद्धि भएपछि सरकारी निकायले समेत तेल उद्योगको प्रज्ञापनपत्र हेरेपछि मूल्य वृद्धि स्वाभाविक भएको जानकारी दिएको छ ।
नेपालको तेल उद्योगलाई चाहिने कच्चा पदार्थ सबै विदेशबाट आयात हुन्छ ।