कडा सुरक्षाबिच बाइडेनले आज अमेरिकाको ४६औँ राष्ट्रपतिको शपथ लिँदै

वासिङटन– जो बाइडेनले आज बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् । आजै कमला ह्यारिस उपराष्ट्रपति हुनेछन् । ट्रम्प समर्थकहरूले क्यापिटल हिल (संसद भवन परिसर) मा आक्रमण गरेकाले ऐतिहासिक शपथ ग्रहण समारोह कडा सुरक्षाका बिच बाइडेन र ह्यारिसले बुधवार शपथ लिँदै छन् ।
शपथ ग्रहण गर्ने परम्परागत स्थानमा मुख्य न्यायाधीश जोन रोबर्ट्सले दिउँसो १२ बजे क्यापिटलको वेस्ट फ्रन्टमा बाइडेनलाई पदको शपथ खुवाउनेछन् । त्यहाँ २५ हजारभन्दा बढी सैनिक सुरक्षा बलमा तैनात रहनेछन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै उक्त ठाउँलाई किल्लामा परिवर्तन गरिएको छ ।
७८ वर्षीय बाइडेन आफ्नो परिवारको १२७ वर्ष पुरानो बाइबलका साथ शपथ लिनेछन् । त्यस समयमा उनकी श्रीमती जिल बाइडेनले हातमा बाइबल समातेर उभिनेछिन् । बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा पाका राष्ट्रपति बन्दै छन् । शपथ ग्रहण लगत्तै उनले राष्ट्रपतिका रूपमा राष्ट्रको लागि पहिलो सम्बोधन गर्नेछन् । अमेरिकी एकता र सद्भावनामा आधारित उनको ऐतिहासिक भाषण विनय रेड्डीले तयार पारेका छन् ।
५६ वर्षीया ह्यारिस पहिलो अश्वेत महिला अमेरिकी उपराष्ट्रपति बनेर इतिहास बनाउँदै छिन् । उनले सर्वोच्च अदालतको पहिलो ल्याटिन सदस्य न्यायमूर्ति सोनिया सोटमेयरबाट शपथ लिनेछिन् । सोटोमेयरेले सन् २०१३ मा बाइडेनलाई पनि उपराष्ट्रपतिका रूपमा शपथ खुवाएकी थिइन् । ह्यारिसले एउटा निकट पारिवारिक साथी रेजिना सेल्टन र दोस्रो अफ्रिकी–अमेरिकी सुप्रिम कोर्टका न्यायाधीश थुरगुड मार्शलसँग रहेको दुई वटा बाइबलका साथ शपथ लिनेछिन् ।
यस वर्षको सत्ता हस्तान्तरण यसका क्रममा भएका विवादहरूका कारण स्मरणीय रहनेछ । निर्वाचनपछि यो प्रक्रिया सामान्य हुन्थ्यो तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ नोभेम्बरको चुनाव परिणामलाई अस्वीकार गरेपछि केही साता धेरै परिघटना भए । ट्रम्पले आफू शपथ ग्रहण समारोहमा सहभागी नहुने बताइसकेका छन् । शपथ ग्रहण समारोह बिहान करिब ११ बजे सुरु हुनेछ । त्यहाँ गायिका एवं नृत्यांगना लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् भने यस अवसरका लागि लेखिएको विशेष कविता अमान्डा गोरम्यानले वाचन गर्नेछिन् । एजेन्सी