विभाजित नेकपामा पदको मारमुंग्री सुरु, दाहाल र नेपाल पक्षबीच ६०–४० को भागबण्डा प्रस्ताव

सानो परिवारमा बाक्लो दाल खान पाइने लोभमा नेकपा फुटाएर गएको असन्तुष्टा नेताहरुको समूहमा पदको मारमुंग्री सुरु भएको छ । साथै, यसमा कुन समूहले वर्चस्व जमाउने भन्ने होडबाजि पनि देखिएको छ ।
संगठन समायोजन तथा पद मिलान गर्न मनोनीत अध्यक्ष माधव नेपालको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाइएको छ । तर, कार्यदलले कुनै निष्कर्ष दिन सकेको छैन । यही कारण तीन दिनदेखि जारी स्थायी समिति बैठक पनि निर्णयविहीन भएको छ ।
कार्यदलका संयोजक माधव नेपालले हरेक संरचनामा ६० प्रतिशत आफ्ना मान्छे हुनुपर्ने प्रस्ताव राखेका छन् । पुष्पकमल दाहाल नेतृत्वको पूर्वमाओवादी समूहलाई ४० प्रतिशत दिने उनको प्रस्ताव छ । उनको यस प्रस्तावले दाहाल समूह झस्किएको छ । दाहाल समूहले त्यसमा कडा आपत्ति जनाएको छ । कत्ति पनि तलमाथि नगरी हरेक पदमा बराबरी भागबण्डा गर्नुपर्ने दाहाल पक्षधरको अडान छ ।
यस्तै महासचिवमा करिब आधा दर्जन नेताहरुको दावी छ । सुरुमा दाहाल र नेपालबीच पूर्वएमाले खेमालाई महासचिव दिने सहमति भएको भनिए पनि अहिले दाहाल त्यस सहमतिबाट पछि हटेका छन् । अहिले दाहालको भनाइ छ, ‘अरु सबै पदहरु एकै ठाउँमा राखी प्याकेजमै सहमति गर्नुपर्छ ।’
नेपाल खेमाभित्र भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायत महासचिवका आकांक्षी छन् । दाहालले सहमतिविपरीत जनार्दन शर्माको नाम अघि सारेपछि नेपाल पक्षधरमा गम्भीर आंशका पैदा भएको छ ।
यस्तै जिल्ला तहको नेतृत्वमा पनि कसरी भागबण्डा गर्ने भन्नेमा ठूलै मारमुंग्री यस समूहमा चलेको छ । ७० प्रतिशत जिल्ला अध्यक्ष मूल नेकपाबाट विभाजित भई आफूतिर आएको दावी गर्ने दाहाल र नेपालले यिनै अध्यक्ष कायम राख्ने कि त्यस ठाउँमा नयाँ चयन गर्ने भन्नेमा गलफत्ती गरिरहेका छन् । यस्तै ओली पक्षधर अध्यक्ष भएका ठाउँमा नेपाल र दाहालले कति पाउने भन्ने झगडा यथावत् छ । नेपालले खाली भएका ठाउँमा ६०–४० को भागबण्डा गर्न खोजिरहेका छन् । तर, प्रचण्डले समग्रमा ५० प्रतिशत मागिरहेका छन् । त्यसो गर्दा कतिपय ठाउँमा माधव नेपाल पक्षधरलाई हटाउनुपर्ने हुन्छ ।
संगठन तहमा प्रचण्डसँग खासै नेता कार्यकर्ता छैनन् । हिजो पदको लोभ देखाएर आफूसँग राखिएका धेरै नेता कार्यकर्ता अहिले ओलीपक्षतिर लागेका छन् । प्रचण्ड खेमाका धेरै प्रभावशाली नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायत ओली खेमामै बसेपछि प्रचण्ड माधव नेपालको समूहमा करिब एक्लै देखिएका छन् ।
कतिपय नेताकार्यकर्ता समूह परिवर्तन गरिरहेका छन् । कतिपयले कित्ता स्पष्ट पारेका छैनन् । केहीले पुनः एकताको पक्षमा अभियान चलाउने तयारी गरेका छन् । यसले कुन पक्षका नेता कति छन् र कति सिट खाली भए भनेर एकीन गर्न पनि गाह्रो भएको छ ।तर, नेता–कार्यकर्ता माधव नेपालसँग बढी भए पनि प्रचण्डले भागबण्डा भने बराबर गर्नुपर्ने प्रस्ताव राखेपछि संगठन समायोजनका कामै अवरुद्ध भएका छन् । यो समस्यामा कुनै समूह लचक भएर समाधान नगरेमा यसले ठूलै रुप लिन सक्ने देखिएको छ ।