कोरोना भ्याक्सिनबारे प्रश्न उठेपछि साइड इफेक्ट भएमा क्षतिपूर्ति दिने घोषणा

हैदराबाद– भारतमा कोरोना भाइरसविरूद्ध भ्याक्सिन अभियान शनिबारदेखि सुरु भएको छ । कांग्रेसले भ्याक्सिनको विश्वसनीयतामा प्रश्न उठाएपछि भारत बायोटेकले एउटा ठूलो घोषणा गरेको छ । कोभ्याक्सिन निर्माता भारत बायोटेकले भ्याक्सिनले साइड इफेक्ट गरेमा क्षतिपूर्ति दिनेछ ।
भारतको केन्द्र सरकारले भारत बायोटेकबाट ५५ लाख डोज भ्याक्सिन किनिसकेको छ । शनिबार सुरु भएको भ्याक्सिनमा यसलाई पनि समावेश गरिएको छ ।खोप लगाएको व्यक्तिले हस्ताक्षर गर्ने फारममै भारत बायोटेकले कुनै प्रतिकूल वा गम्भीर प्रतिकूल प्रभाव देखिएमा तपाईलाई सरकारी र आधिकारिक खोप केन्द्र वा अस्पतालमा उचित हेरचाह गरिने उल्लेख गरेको छ । सहमतिपत्रका अनुसार यदि भ्याक्सिनले गम्भीर साइड इफेक्ट भएको प्रमाणित भएमा बिबिआइएलद्वारा क्षतिपूर्ति दिइनेछ ।
कोभ्याक्सिनको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणहरूमा कोविड–१९ विरुद्ध एन्टिडोट विकसित भएको पुष्टि भइसकेको छ । भ्याक्सिन निर्माताका अनुसार भ्याक्सिन क्लिनिकल रूपमा प्रभावकारी छ भन्ने तथ्यलाई अझै अन्तिम रूप दिइएको छैन । त्यसैले यस चरणलाई क्लिनिकल परीक्षणकै रूपमा अध्ययन गरिँदै छ।
त्यसमा भनिएको छ, ‘भ्याक्सिन लगाउनुको अर्थ कोभिड–१९ सम्बन्धी अन्य सावधानी अपनाउनु आवश्यक छैन भन्ने हुनुहँदैन ।’ यसै क्षेत्रका एक विशेषज्ञका अनुसार भ्याक्सिन अझै क्लिनिकल परीक्षणमा रहेको छ । क्लिनिकल परीक्षणकै क्रममा रहेकाले यदि कसैमा गम्भीर साइड इफेक्ट भएमा क्षतिपूर्ति दिनु कम्पनीको उत्तरदायित्व हुने उनले बताएका छन् । त्यसै समयमा भारत बायोटेक इन्टरनेसनल लिमिटेड ९बिबिआइएल० का संयुक्त प्रबन्ध निर्देशक सुचित्रा अल्लाले ट्वीट गर्दै कोभ्याक्सिन र भारत बायोटेकले देश र कोरोना योद्धाहरूको सेवा गर्न पाउँदा सम्मानित र कृतज्ञ भएको जानाएकी छन् ।
भारतमा दुई कम्पनीहरूको भ्याक्सिनलाई भर्खर स्वीकृति दिइएको छ । डिसिजिआईले भारतको सिरम इन्स्टिट्युट र भारत बायोटेकको कोभ्याक्सिनलाई आपतकालीन उपयोगको लागि स्वीकृति दिएको छ । शनिबार भारतमा सुरु भएको कोरोना भ्याक्सिन स्वास्थ्यकर्मीहरूलाई दिइँदै छ । पहिलो दिन तीन लाख स्वास्थ्यकर्मीले भ्याक्सिन लगाएको अनुमान छ ।
विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन अभियान शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको हो । पाका उमेरकालाई उपलब्ध गराइएपछि अन्यलाई पनि भ्याक्सिन दिइनेछ । कांग्रेस सांसद र पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले कोरोना खोपबारे प्रश्न उठाए । उनले इन्डिया बायोटेकको भ्याक्सिनबारे नाम चलेका डाक्टरहरूले सरकारसमक्ष प्रभावकारिता र सुरक्षाबारे प्रश्न उठाएको बताए । कुन भ्याक्सिन लिने भनेर उनीहरूलाई छनेटको अवसर नदिएकामा पनि उनले प्रश्न उठाएका छन् । कोभ्याक्सिनको फरक कथा भएको र उपयुक्त प्रक्रियाबिना स्वीकृति दिइएको तिवारीले दाबी गरे । पिटिआई