ओलीको एक दाउ, भारतीयको सय दाउ : कमजोर राजनीतिमा विदेशीको डरलाग्दो चलखेल

कुनै पनि राष्ट्रको आन्तरिक राजनीति कमजोर बन्दै गएमा विदेशी शक्तिको चलखेल बढेर जान्छ । अझ नेपालजस्ता कमजोर राष्ट्रमा थोरै निहुँ पाउनेबित्तिकै विदेशी चलखेल ह्वात्तै बढ्ने गरेको छ । नेपालमा राजनीतिक पार्टी वा नेता आन्तरिक राजनीतिमा कमजोर बन्न थाले भने विभिन्न माध्यमबाट विदेशीको सहयोग लिएर आफूलाई टिकाउने प्रयास गर्दै आएका छन् । त्यसले विदेशी चलखेल बढ्ने, केबाट फाइदा लिएर राष्ट्रलाई आफू अनुकूल हिँडाउन सकिन्छ भनेर रणनीति पनि सँगै लिएर आउने गरेका छन् ।
अहिले लगभग दुई तिहाई बहुमतका साथ सत्ता चलाइरहेको सत्तारुढ दल नेकपामा आन्तरिक किचलो बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा संसद् नै भंग गरेर देशलाई चुनावमा होमेका छन् । २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवी बनाएका र त्यसैको ब्याजमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले अब पनि त्यो छविलाई अझ उजिल्याउने दाउमा पुस २५ गते भारतको जी न्युजका सम्पादक सुधीर चौधरीलाई बालुवाटार निम्त्याएर अन्तर्वार्ता दिए । सो अन्तर्वार्ताले राष्ट्रवादी छवी चम्कायो भनेर प्रधानमन्त्री ओली मखलेल बन्दै गर्दा जी न्यूजका सम्पादक चौधीले भने ओलीले एक दाउ प्रयोग गर्दा सात दाउ प्रयोग गर्ने प्रयास गर्नतिर लागे । उनले नेपालको सगरमाथाको नाम नै परिवर्तन गर्नुपर्छ भन्ने अभियान नै छेड्न विभिन्न सामग्री तयार गर्न थालेका छन् ।
जी न्युजका सम्पादक चौधरी जसले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीचको वार्तालाई लिएर गलत तथा आपत्तिजनक प्रचार गरे । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा जारी गरेपछि सो कदमलाई चिनियाँ उक्साहट भन्दै नेपाललाई अनेक तरहले होच्याएर सामग्री प्रशारण गरे । उनैलाई प्रधानमन्त्रीले आफ्नो अभियान र भविष्यको सुखद् बाटो बनाइदिन बालुवाटारमा स्वागत गरेपछि चौधरीले आफ्नो अभियानलाई अझ चर्काउन यो अवसरलाई भरपूर उपयोग नगर्ने कुरै भएन । उनले सगरमाथाको आधार सिविर कालापत्थर पुगेरै सगरमाथाको नाम माउन्ट एभरेष्ट नभएर भारतीय नागरिकको नामबाट राख्नुपर्छ भनेर विभिन्न सामग्री प्रशारण गरिरहेका छन् ।
उनले पश्चिम बंगालका भारतीय नागरिक राधानाथ सिकदरले उचाइ पत्ता लगाएको भन्दै माउन्ट एभरेष्टको नाम माउन्ट सिकदर किन नराखिएको भन्दै विभिन्न सामग्री तयार गरेर प्रशारण गर्न थालेका छन् । जुन कि सिकदर बृटिस नापी टोलीका कर्मचारी थिए । पछि उनकै नेतृत्वमा नापेको उचाइ अहिलेको माउन्ट एभरेस्टको उचाइसँग मेल खाँदैन । राष्ट्रवादी वा विकासवादी छवि खोज्न जनतासँग जानुपर्छ । आफ्ना नीति तथा कदमलाई देशवासीले कस्तो मानेका छन् ? सबै वर्ग, सबै तह र तप्काका नागरिकले कस्तो मानेका छन् भनेर बुझन छाडेर आफूले जुन देशको प्रवृत्तिका बारेमा बोलेर राष्ट्रवादी बनिएको छ उसै देशका अनर्गल प्रचारकले छवि उजिल्याइदेलान् भनेर प्रधानमन्त्री निवासमा बोलाएर स्वागत गर्दा त्यसले अवश्य पनि प्रतिकूल अवस्था सिर्जना गरिदिन्छ भन्नेसम्म हेक्का नपाउने प्रधानमन्त्रीका सल्लाहकारलाई धिक्कार्नै पर्छ । माउन्ट एभरेष्टका बारेमा मात्रै होइन चौधरीले प्रधानमन्त्रीले आफ्नो निजी निवासमा गरेको स्वागतलाई कुन–कुन ठाउँमा उपयोग गर्ने हुन् र के कस्ता सामग्री तयार पार्ने हुन् त्यो हेर्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको हैसियत समान हो भनेका छन् । जो सही हो । त्यस्तै उनले नेपालले आफ्ना दुवै छिमेकी भारत र चीनसँग समान व्यवहार गर्छ भनेका छन्, अन्तर्राट्रिय मान्यता नै हो । अर्को, उनले चीन र भारतबीचको असमझदारीमा मध्यस्त गर्न म तयार छु भनेका छन् । प्रधानमन्त्रीले लगभग दुई तिहाई बहुमत प्राप्त पार्टीका सबै गटुलाई एक बनाएर लैजान सक्षम भएको भए यसलाई राम्रै मान्न सकिन्थ्यो । पार्टीका गुट अलग भई आमने–सामने भएर द्वन्द्वमा लागिरहेको र संसद् विघटन भएकोमा त्यसलाई संविधानविद् तथा नागरिक अगुवाहरू र प्रतिपक्षी दलहरूले संविधानविरोधी बताइरहेका बेला त्यसको कुनै अर्थ रहनेछैन ।
राष्ट्र बलियो हुन आर्थिकरूपमा आत्मनिर्भर हुनुपछ, नीतिगत रूपमा दह्रो हुनुपर्छ ।नैतिक मूल्य मान्यता स्थापित हुनुपर्छ । ती सबैलाई भत्काउन प्रयास गर्ने तथा आफूलाई उच्च देखाउन विदेशी शक्तिको खोजी गर्ने पवृत्तिले कहिल्यै पनि राष्ट्रको हित गर्दैन । अहिले पनि त्यही भएको हो ।