उइगर मुसलमानहरू माथिको उत्पीडन देखाउँदै बेलायतले चिनबाट हुने आयातमा लगायो प्रतिबन्ध

लन्डन– चिनको झिनज्याङ प्रान्तमा उइगर मुसलमानहरूको मानव अधिकारको भयंकर उल्लंघन भएको जनाउँदै मंगलबार बेलायतले चिनियाँ कम्पनीहरुबाट सामान किन्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
बेलायतका विदेशमन्त्री डोमिनिक राबले संसदको तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै चिनले बेलायतलाई उइगुर मुसलमानको बसोबास रहेको क्षेत्रमा गई उनीहरूमाथि भएको अत्याचारका सम्बन्धमा समीक्षा गर्नका लागि जान दिनुपर्ने बताएका छन् ।
बेलायतको योजना चिनलाई कूटनीतिक दबाब दिएर त्यहाँका मुसलमाहरू माथिको दमन रोक्ने रहेको छ । उनले भने, ‘हामीले आयात गर्ने सामान झिनज्याङका यातना शिविरबाट उत्पादन नभएको सुनिश्चित हुनुपर्छ ।’
यस दिशामा कदम उठाउँदै बेलायतले विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय एफसिडिओ विभाग र अन्तर्राष्ट्रिय व्यापार विभागले नयाँ विस्तृत दिशानिर्देश जारी गरेको राबले बताए । यो दिशानिर्देश झिनज्याङसँग सम्पर्क राख्ने कम्पनीहरूसँग सम्बन्धित जोखिमलाई लिएर जारी गरिएको बताइएको छ । एजेन्सी