भारत सरकारले उपलब्ध गराउने १० लाख डोज कोरोना खोप बिहीबार काठमाडौं आइपुग्ने

काठमाडौं ।भारत सरकारले नेपाललाई उपलब्ध गराउने कोरोना विरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्दैछ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप बिहीबार नै नेपाल ल्याइने जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खिटएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने उनले बताए । त्यस्तै खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको उनले बताए।
मन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको धारणा राखे । त्यस्तै उनले खोप खरिद प्रक्रिया पारदर्शी हुने दावी गरे।
मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण र रोकथानका लागि सरकार निरन्तर रुपमा लागिपरेको बताए ।पत्रकार सम्मेलनमा भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाको खोप प्रदानका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले कोरोना खोप उत्पादनलाई भारतले बृद्धि गर्दै लैजाने बताए ।‘भ्याक्सिन मैत्री’ अभियान अन्तर्गत भारतले नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई भ्याक्सिन उपलब्ध गराउन सुरु गरेको हो ।