पर्यटनमन्त्रीद्वारा विमानस्थल निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । विमानस्थलको रनवे, टर्मिनल भवनसहित निर्माणाधीन १४ भवन, ट्याक्सी पार्किङलगायतका संरचना तथा हालसम्मको प्रगतिका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, निर्माणमा विद्यमान समस्यालगायतका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । आयोजनाका अनुसार हालसम्म विमानस्थलको ७० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
सो अवसरमा मन्त्री ढकालले पर्यटनमन्त्री भएपछि आफू लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन भ्रमणका लागि पोखरा आएको बताउँदै पोखरा विमानस्थल यथाशक्य छिटो सञ्चालमा ल्याउने सरकारको योजना रहेको बताउनुभयो ।