अहिलेको दलालकाे राजनीतिसँग पृथ्वीनारायण शाहको राष्ट्रियताको तुलना गर्दा

आज पौष २७ गते । विभिन्न साना भुरेटाकुरे राज्यलाई एकीकरण गरेर पूरा नेपाको रूप दिने अभियन्ता पृथ्वीनारायण शाहको सम्झना गर्ने दिन । पृथ्वीनारायण शाहले अहिलेको नेपाल राट्रको आकार दिन एकीकरण अभियान चाले पनि अहिले उनलाई नेपालमा नायक र खलनायकका रूपमा उभ्याउने गरिएको छ ।
उनले अहिलेको नेपालको भूगोलभित्र रहेका ससाना राज्यलाई मिलाएर एकीकृत नेपालको स्वरूप दिएकाले उनलाई नायकका रूपमा लिइन्छ । अर्को, उनले सामन्ती राजतन्त्र स्थापना गर्न जबर्जस्त साना राज्यलाई हडपेका हुन् भन्दै उनलाई खलनायकका रूपमा उभ्याइने गरिएको छ । पृथ्वीनारायण शाहलाई नायक वा खलनायकका रूपमा जेजसरी उभ्याए पनि अहिलेको एकीकृत नेपालको स्थापना गर्ने उनै हुन्, यसलाई कसैले पनि नकार्न सक्दैन ।
नेपालको एककीरण एउटा पक्ष भयो, पृथ्वीनारायण शाहले नेपाको एकीकरण मात्रै नभएर नेपालको अवस्था कस्तो छ ? छिमेकीहरू तथा बाह्य जगत कस्तो छ ? नेपालले कस्तो रणनीति अपनाउनु आवश्यक छ र कसरी नेपालले आफ्नो अस्तित्व रक्षा गर्नुपर्छ भन्ने कुरा अहिले पनि अत्यन्तै महत्वपूर्ण र मननयोग्य छ । अर्को, इतिहासको त्यो कालखण्डमा उनको राष्ट्रियता र अहिलेका नेतृत्वकर्ताको राष्ट्रियताबीच तुलना गर्ने हो भने पृथ्वीनारायण शाहका अगाडि उनीहरू धेरै कमजोर र अबुझ नै देखिन्छन् ।
अहिलेका राजनीतिक पार्टीहरूका नेताहरू जो लामो समय सत्ता र शक्तिमा छन् वा तिनै ओरिपरि छन् तिनीहरूले आफ्नो सत्ता र शक्ति जोगाउन दक्षिणी वा उत्तरी छिमेकीको पाउ पर्ने, जनतालाई बेवास्ता गर्ने प्रवृत्तिसँग पृथ्वीनारायणको राष्ट्रवादी, आत्मनिर्भर तथा उच्च स्वाभिमानी नीति कहीँ पनि मेल खाँदैन । सत्ता र शक्ति जोगाउन जे पनि सम्झौता गर्ने तर जनतालाई भुलाउन त्यसैलाई गाली गर्ने प्रवृत्तिले नेपाल र नेपाली जनताले सधै दुःख झेल्दै आएका छन् । पृथ्वीनारायण शाहले उत्तर र दक्षिणका विशाल छिमेकीको बीचमा रहेको नेपाललाई दुई ढुंगाको तरुलको रूपमा चित्रण गरेका छन् ।
यसको मतलव नेपाल च्यापिएर रहनुपर्छ भन्ने होइन कि ठूला राष्ट्रका जुनसुकै नीतिले पनि नेपाललाई प्रभाव पार्छ । तसर्थ नेपालको स्रोतसाधन तथा जनशक्तिका आधारमा नीति बनाएर आत्मनिर्भरको बाटोमा अगाडि बढाउनुपर्छ । अर्को, नेपालको आफ्नै संस्कार संस्कृति छ त्यसको रक्षा गरेर सबै जातजाति समान हैसियतमा रहन सकिएन भने आपसमा द्वन्द्व बढेर सिद्धिने अवस्था आउँछ भन्ने पृथ्वीनारयण शाहको धारणा देखिन्छ । उनले यी कुरा आफ्नो उपदेशमा समेटेका छन् । अहिलेका नेतृत्वकर्ताहरूले आफ्नो सत्ता र शक्तिका लागि यसको उल्टो बाटो हिँडिरहेका छन् । नेपाली जातजातिलाई सकेसम्म झगडा गराएर, फुटाएर आफू सत्तामा टिकिरहने रणनीतिमा छन् ।
अहिलेको नेकपाको राजनीति सकेसम्म जनतालाई फुटाऊ र राजनीति गर भन्नेतिर लागिरहेको छ । नेकपाका दुवै चिरा त्यसैतिर आफ्नो सबै शक्ति खर्च गरिरहेका छन् । प्रजातन्त्रका लागि लामो समय संघर्ष गर्दै आएको नेपाली कांग्रेस पनि जनतालाई जुटाउने र आत्मनिर्भर राज्य बनाउने नीतिमा दह्रोसँग उभिन सकेको छैन । अझ अहिले नेपाल आत्मनिर्भर बन्ने बाटोमा होइन अर्थतन्त्रका सबै अवयव, राज्यका सबै स्रोतसाधन ठूलाठूला दलालका हातमा सुम्पने र नेता तथा उनका आसेपासेले ठूलो कमिसन लिने तथा त्यसैको भरमा जनतामाथि शासन गर्ने बाटोमा दु्रतगतिले अघि बढिरहेको छ । अहिले आफ्नो धर्म, संस्कार, संस्कृति जोगाएर अस्तित्वपूर्ण राष्ट्र र समाजको स्थापना गर्ने होइन तीप्रति सकेसम्म अपमान गर्ने, घृणा फैलाउने र विधर्मीहरूबाट ठूलो कमिसन खान जे पनि गर्ने प्रवृत्ति राजनीतिकर्मीहरूमा देखिएको छ । नेपालको इतिहासमा होली वाइन खान मरिहत्ते गर्ने नेताहरूकै शासनसत्ता र शक्तिमा हालीमुहाली छ ।
पृथ्वीनारयण शाहले भ्रष्टाचारलाई देशको कलंक बताएका छन् । घूस लिने र दिने दुवै देशका शत्रु हुन् भनेका छन् । नेकपाको सरकार बनेदेखि नै ठूला–ठूला आर्थिक अनियमितताका काण्डमा प्रधानमन्त्रीले नै बचाउ गर्दै हिँडेका छन् । प्रधानमन्त्री केपी ओलीले बनाएका कतिपय मन्त्रीहरू विभिन्न काण्डमा अभियोग लागेका छन् । संवैधानिक आयोगमा नियुक्त गएिका व्यक्तिहरू पनि कुनै न कुनै काण्डमा मुछिएका छन् । यति मात्रै होइन देशका कुनै पनि क्षेत्रले आफ्नो अस्तित्व कायम गरेर अघि बढ्ने अवस्था छैन । सबै क्षेत्र विक्रित बन्दै गएको छ । यस्तो अवस्थामा पृथ्वीनाराण शाहको नीति नेपालका लागि अहिले पनि अत्यन्तै सान्दर्भिक छ ।