सडकका भीडभाड र आन्दोलन ‘कोरोना बम’ बन्ने खतरा

काठमाडौं ।कोरोनाले विश्वव्यापी रुपमा असर गरिरहेका बेला फेरि त्यसकै नयाँ भाइरस विभिन्न मुलुकहरुमा फैलिन थालेको छ । बेलायतमा पुनः फैलिएको कोरोनाको नयाँ भाइरस काठमाडौंमा पनि छिरेको हुन सक्ने भए पनि त्यसलाई प्रयोगशालामार्फत किटान गर्न बाँकी रहेको छ ।हालै बेलायतबाट फर्केका केही मानिसमा संक्रमणको लक्ष्यण देखा परेको थियो ।
हाल जनस्तरमा देखिएको व्यापक उदासीनताका कारण काठमाडौंमा कोभिडको दोस्रो लहरको जोखिम कायमै छ ।पछिल्लो समय देशभरि देखिएका कुल संक्रमितमध्ये करिब आधा जति काठमाडौं जिल्लाका नै छन् । चिकित्सकहरुले ‘अझै काठमाडौं कोभिडको हटस्पटको रुपमा रहेको भन्दै सजकता अपनाउन जोडदिएका छन् ।
कोभिडविरुद्धको खोप दिइरहेको बेलायतले पुनः लकडाउन गर्नुपरेको तथ्य नेपालीले बिर्सन हुँदैन ।यहाँ त कोरोनाको खोप आकाशको फल जस्तै भएको छ । कहिले कहाँबाट ल्याउने हो त्यसको टुंगो छैन । मास्कको उपयोग, सामाजिक दूरी र निरन्तर हातको सफाइजस्ता मापदण्डलाई राम्ररी पालना गर्नु पर्ने विज्ञहरुले बताइरहे पनि त्यसको सहि रुपमा पालना भएको देखिदैन ।
सार्वजनिक स्थलमा भीडभाड गर्न नहुने भनिए पनि मानिसहरु कोरोना सकिएको झै बिना मास्क आन्दोलनमा उत्रिएका छन् । हाल भईरहेको सडक आन्दोलन नै नयाँ भाइरस भित्र्याउने माध्यम हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
जनतालाई सुसुचित गराउनुको साटो नेताहरु नै आन्दोलनको नेतृत्व गर्दै भीडभाडमा हिडिरहेका छन् । यसरी कोरोनाको जोखिममा पनि नेताहरु सडकमा उत्रिनुको पछडिको कारण भने जनताका लागि नभई आफनै लागि हो । यस्तै गरेर नेताहरु, नागरिक समाज सबै उत्रिएको भए कोरोनाको बेलामा काम नपाएर कोही पनि भोकभोकै मर्नुपर्ने अवस्था आउँदैन थियो होला । तर,सरकार खान नपाएर मरेका मान्छेलाई भोकले मरेको मान्न तयार छैन ।यहाँ खान लगाउनै नसक्ने स्थिति भएरपछि कतिपयले आत्महत्या गरेको खबर पनि हामीले दैनिक जसो सुन्दै आएका हौं ।
चिसो बढेसँगै कोरोनाको लक्षण सँग मिल्ने गरि अहिले धेरै जसोलाई उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या देखिन थालेको छ । मौसमी रुघाखोकी भए पनि हेलचक्रयाँइ नगर्न चिकित्सकहरुले सुझाएका छन् ।