केपी ओलीको प्रदेश दौडाहाः नेता–कार्यकर्ताहरूलाई आफ्नो पोल्टामा पार्न कि अझ द्वन्द्व बढाउन ?

प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गरी मन्त्रिमण्डल विस्तार गरेर नेता–कार्यकर्ता आफ्नो पक्षमा तानेर शक्तिशाली बन्न प्रदेश दौडाहामा निस्कन थालेका छन् । पार्टी दुई फ्याक भइसकेको तर आधिकारिकता नपाएको समयमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता आफ्नो पक्षमा तान्न ओली धनगढीको पार्टी भेलामा पुगेका छन् ।
पूर्वएमाले तथा सिंगो नेकपामा प्रभावशाली नेता भीम रावलको दबदबा रहेको सुदूरपश्चिम क्षेत्र प्रधानमन्त्री ओलीका लागि निकै महत्व राख्छ । अहिले ओली खेमाका दुई मन्त्रीले राजीनामा दिएर दाहाल–नेपाल पक्षको एकलौटी बन्न पुगेको सुदूपश्चिम प्रदेश सरकार अब ओली पक्षले कांग्रेससँग मिलेर आफ्नो पक्षमा ल्याउने कसरत गर्दैछ । नेकपा दुई चिरा भएकोमा अहिलेसम्म अन्योलमै रहेका नेकपाका नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न सकियो भने आफ्नो पक्षलाई कसैले छुन नसक्ने ओली पक्षको आँकलन छ ।
प्रधानमन्त्री केपी ओलीले आफूलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र विरिष्ठ नेता माधवकुमार नेपालले काम गर्न नदिएकाले संसद् विघटन गर्न पुगेको बताउँदै आएका छन् । उनले अब एक्लै बलियो पार्टी खडा गर्ने र नयाँ जनमत लिई समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने बताएका छन् । प्रतिपक्षी दल, नेकपाकै दाहाल–नेपाल खेमा, जनतासमाजवादी पार्टी, विवेकशील साझादेखि अन्य साना दलका साथै संविधानविद् र नागरिक समाजका अगुवाहरूले ओलीको संसद् विघटनको कदम असंवैधानिक बताइरहेका बेला आफ्नो कदमलाई वैधानिक हो भनेर दाबी गर्न पनि यस्ता भेला ओलीका लागि आवश्यक ठानिएको छ ।
नेता–कार्यकर्ता माझ गएर आफ्नो कदमलाई वैधानिक दाबी गर्ने र तथ्यांक तोडमोड गरेर भए पनि विकासका फेहरिस्त राख्न सके कार्यकर्तालाई आफ्नो पक्षमा सर्लक्कै पार्न सकिने केपी ओलीको विश्वास रहेको देखिन्छ । उनले दाहाल–नेपालले आफूलाई काम गर्न नदिएको र उनीहरूका कमीकमजोरी कार्यकर्तामाझ पुर्याउने माध्यम पनि यस्तै भेलालाई बनाउने मानसिकतामा छन् । प्रधानमन्त्रीको हैसियतमा केपी ओली सुदूरपश्चिम प्रदेशको धनगडीमा पुग्दा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा कुनै पनि सरकारका प्रतिनिधि स्वागतमा उपस्थित भएनन् ।
प्रदेश सरकारले प्रधानमन्त्री आउने औपचारिक जानकारी नभएकाले स्वागतमा उपस्थित नभएको बताए पनि प्रधानमन्त्रीलाई अवश्य अपमानबोध हुनपुगेको हुनुपर्छ । यो घटनाले पनि सबै तहका सरकारमा चरम तीक्तता रहेको र भविष्यमा प्रदेश तहमा पनि गम्भीर द्वन्द्व बढ्ने स्पष्ट भएको छ । प्रधानमन्त्रीलाई यो घटनाले अवश्य पनि नयाँ कदमका लागि उकास्ने छ ।
नेकपाको आन्तरिक झगडा र त्यसले निम्त्याएको फुटका कारण नेपालमा सशक्त कम्युनिष्ट पार्टीको सपनालाई तुहाइदिएको छ । केपी ओलीले आफ्नो भाषणकला र देश विकासका अनेकांै सपनाका कारण नेकपाका नेता–कार्यकर्ता आफ्नो पक्षमा आउने आँकलन गरे पनि आन्तरिक विवाद मिलाउन नसकेर संसद् विघटन गरेको घटनालाई कसैले पनि राम्रो मानेका छैनन् । राजनीतिमा सक्रिय भएर लागेका कार्यकर्ताले अब राजनीति गरेर आफ्नो अस्तित्व कायम राख्न नसकिने र आफ्नो उत्थान नहुने महसुस गर्न थालेको देखिएको छ ।
ओलीले नेकपाका कार्यकर्ता आफूतिर तानेर शक्तिशाली पार्टी बनाउने भने पनि उनले पूर्वएमालेकै केही कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने हुन् । दाहाल–नेपालले आफ्नो पक्षमा तान्ने पनि पूर्व एमालेका नेता–कार्यकर्ता नै हुन् । यो घटनाले नेपालमा शक्तिशाली लिबरल कम्युनिष्ट पार्टी बनाउने र देशको आर्थिक परिवर्तन गर्ने सपना पूर्णरूपमा तुहिने अवस्था आएको छ । ओलीको आक्रामक रणनीति र सक्रियता तथा दाहाल–नेपालको रणनीतिले विकास र समृद्धिलाई गम्भीर असर पार्ने स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीले आफूलाई बलियो बनाउन जुनसुकै रणनीति प्रयोग गर्न पनि पछि नपर्ने अवस्थाले बजेटको दुरुपयोग र विकासमा बाधा पर्ने देखिएको छ । प्रदेश भेला तथा अन्य भेलामा सरकारी सम्पत्ति दुरुपयोग हुने खतरा बढेर गएको छ । त्यस्तै दाहाल–नेपालले सकेसम्म प्रदेश तथा स्थानीय सरकार एकलौटी गर्ने नसके सरकार अघि बढ्न अवरोध गर्ने अवस्थाले देश गम्भीर शंकटमा फस्दै जाने खतरा बढेर गएको छ ।