छुट्टै पार्टी गठन गर्ने प्रचण्डको यस्तो छ तयारी
सचिवालयमा प्रस्तुत आरोपपत्रको पुस्तिका बनाएर देशभर पठाइयो

नेकपाका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र जवाफ माग्नका लागि नभई छुट्टै पार्टी गठन गर्नका लागि भएको खुलेको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको दस्तावेजलाई उनले छुट्टै पार्टी गठनको दस्तावेजका रुपमा छापेर आफ्नो गुटपंक्तिमा प्रसार गरेका छन् ।
सचिवालयमा विचाराधीन रहेकै अवस्थामा कुनै पनि प्रस्ताव बाहिर लैजाने वा अन्य कमिटीका नेता–कार्यकर्तालाई बाँड्ने व्यवस्था नेकपामा छैन । पार्टीले निर्णय गरिसकेपछि आधिकारिक अन्तरपार्टी निर्देशन (अपानि)का रुपमा मात्र पार्टी पंक्तिलाई सञ्चार गर्ने विधि स्थापित छ । तर, प्रचण्डले सचिवालयबाट निर्णय नहुँदै उनलेआफ्नो खेमाभित्र सञ्चारित गरेका छन् ।
यस्तै प्रचण्ड खेमाले आफ्नो गुट बलियो बनाउन र पार्टी विभाजनका लागि तयार राख्न प्रभावशाली नेताहरुलाई देश दौडाहामा पठाएको छ । महामारीको जोखिमका बीच प्रचण्डपक्षीय नेताहरु अहिले आन्तरिक भेला र प्रशिक्षणमा व्यस्त छन् । केही दिनअघि प्रचण्ड पक्षीय नेता वामदेव गौतम दाङ पुगेर कार्यकर्ता भेला गरेका थिए । त्यहाँ उनले पार्टी विभाजनलाई स्वाभाविक रुपमा लिनुपर्ने र त्यसका निम्ति तयार रहन निर्देशन दिएका थिए ।
सोही दिन अर्का नेता सुरेन्द्र पाण्डे चितवनमा गएर कार्यक्रम गरेका थिए । कार्यक्रमको बीचैमा उनीविरुद्ध नाराबाजी भएपछि भाग्नुपरेको थियो । त्यहाँ उनले पक्ष–विपक्षको कुरा गर्न थालेपछि युवा विद्यार्थीहरुले पार्टी एकता जिन्दावाद भन्दै नाराबाजी गरेका थिए ।
प्रचण्डले आफूकहाँ भेट्न पुग्ने नेताहरुलाई पनि यसैगरी कार्यकर्तालाई तयार पार्न निर्देशन दिएका छन् । सचिवालयको अर्को बैठक यही १३ मंसिरमा डाकिएको छ । त्यो बैठक अब बस्छ भन्ने विश्वासमा प्रचण्ड पक्ष छैन । बैठक बसे पनि नबसे पनि, आफ्नो प्रस्ताव पारित भए पनि नभए पनि उक्त दस्तावेजमा टेकेर देशभरि सबै तहमा समानान्तर कमिटी ब्युँताउने गरी तयारी अघि बढाइएको छ ।
संसदीय दलमा पनि आफ्ना पक्षका सांसदहरु कोको आफूसँग रहन्छन् र कोको रहँदैनन् भनेर आकलन गर्न थालिएको छ । केही अघि हस्ताक्षर संकलन गरिए पनि बहुमत नपुगेपछि रोकिएको थियो । अहिले हस्ताक्षर गर्ने र नगर्ने दुवैथरी सांदसलाई पालैपालो बोलाएर प्रचण्ड र माधव नेपालले कतापट्टि झुकाव छ भनेर बुझ्न थालेका छन् ।
स्रोतअनुसार, अहिलेसमम माधव नेपाल पक्षधर सांसद आफ्नो गुटबाट धेरै टसमस नभइसकेको पाइएको छ । तर, प्रचण्ड र वामदेव गौतम पक्षधर धेरै सांसद एवं नेता–कार्यकर्ताले कित्ता परिवर्तन गरेको पाइएको छ । उनीहरुले प्रचण्ड र वामदेवलाई कुनै सैद्धान्तिक नेता नभई अवसरवादीका रुपमा चित्रण गरी यस खेमामा लागेर थप समय व्यतीत गर्न नसक्ने जानकारी दिएका छन् ।
माधव नेपाल पक्षधर नेताहरु पनि पार्टी विभाजनकै तहमा जाँदा गुटको पछि लाग्छन् या लाग्दैनन् भन्ने एकीन छैन । यसअघि वामदेव गौतम नेतृत्वमा माले विभाजित हुँदा नेतृत्व पंक्ति मात्र चोइटिएको थियो, कार्यकर्ताले साथ दिएका थिएनन् । जनताबाट त वामदेवको उक्त समूह बहिष्कृत नै भयो । आमनिर्वाचनमा एउटा सिट पनि जित्न नसकेपछि पुनः एमालेमै मिसिनुपरेको थियो ।
प्रचण्डले बेग्लै पार्टी गठन गर्नका लागि अघि सारेको राजनीतिक प्रस्तावमा धेरै सैद्धान्तिक कुरा भने छैनन् । त्यसमा केपी ओलीविरुद्धका आरोप र आफ्ना असन्तुष्टिहरुको सूची समावेश गरेका छन् । तीमध्ये केही आरोप त निकै हलुका र सतही रहेको कुरा उनी स्वयंले स्पष्ट पारेका छन् । जस्तो कि अदालतसम्बन्धी अभिव्यक्तिबाट पछि हट्दै सार्वजनिक विज्ञप्ति नै जारी गर्नुपरेको छ ।
आफ्नो सत्ता रक्षा गर्न र विरोधीलाई ठेगान लगाउन अदालतलाई प्रयोग गर्न प्रधानन्यायाधीशलाई नै निवासमा बोलाएर सल्लाह गरेको आरोपसहित लिखित दस्तावेज सचिवालय बैठकमा पेस गरेका प्रचण्डले एक विज्ञप्ति जारी गरी न्यायिक नेतृत्वलाई आरोपित गर्ने र मानमर्दन गर्ने उद्देश्य नरहेको र बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशलाई आफ्नो निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागू गर्ने, द्वन्द्वकालीन मुद्दाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गरेको भन्दै प्रचण्डले आरोप लगाएका थिए ।
आफ्नो सत्ता रक्षा गर्न र विरोधीलाई ठेगान लगाउन अदालतलाई प्रयोग गर्न प्रधानन्यायाधीशलाई नै निवासमा बोलाएर सल्लाह गरेको भन्नेजस्ता आरोपलाई लिएर न्यायिक क्षेत्र तरंगित बनेको थियो । यसबारे अदालतले नै बोल्नुपर्ने कतिपय न्यायकर्मीले आवाज उठाएका थिए । केही कानुन व्यवसायीले भने प्रचण्डविरुद्ध अवहेलनाको मुद्दा हाल्ने तयारी गरेका थिए ।
यसै पनि कुनै सैद्धान्तिक आधारमा नभई व्यक्तिगत भागबण्डाको विषयलाई लिएर पार्टी फुटाउने र देशमा अस्थिरता निम्त्याउने नियोजित उद्देश्यले प्रचण्डले यो कदम चालेको भन्दै धेरैतिरबाट शंशय प्रकट भएको छ । त्यसमाथि हलुका आरोपको पुलिन्दालाई राजनीतिक प्रस्तावको नाम दिएर कार्यकर्ता र जनतामाझ जाँदा प्रचण्डलाई कति शोभा दिन्छ र जनसमर्थन एवं सहानुभूति पाउलान् कि नपाउलान् ! त्यो भने भविष्यले नै देखाउला ।