षड्यन्त्रकारी सोच नबदलिँदा प्रचण्ड आफै सकिने बाटोमा

नेपालको पहिलो राजनीतिक शक्ति हुने सम्भावना हुँदाहुँदै नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको राजनीति जोगाइदिन निकै उदारतापूर्वक पार्टीमा समाहित गरे । शेरबहादुर देउवासँग मिलेर गरेका हर्कतहरुका कारण जनतासामु जाँदा पनि नाक लुकाउनुपर्ने अवस्थामा पुगेका प्रचण्डलाई ओलीले शिरमा बोकेर हिँडे । चितवनमा एउटा छोरीलाई जिताउन मतपत्र चपाउनेदेखि निर्वाचन आयोग कब्जा गरेर पुन:मतदान गराउनेसम्मको अवस्थामा पुर्याए, जसले गर्दा कांग्रेस र देउवाको राजनीति समेत धूलीसात् भयो । छोरीको त्यो हविगत भएपछि आफ्नो थप बिचल्ली हुने अवस्थामा पुगेका प्रचण्डलाई ओलीले उद्धार गरेर करिब समान हैसियत दिएर चुनावमा नाक जोगाइदिए । अहिले तिनै ओलीविरुद्धका षड्यन्त्रमा प्रचण्ड उद्धत भएका छन् । यसले आफू पनि गुँड बनाउन नसक्ने, अरुले बनाएका गुँड पनि देखी नसहने प्रचण्ड चरित्र उदांगो भएको छ ।
सबैले विश्वास गर्न छाडेपछि
प्रचण्ड अहिले जनताको नजरमा मात्र होइन, कुनै पनि शक्तिले पत्याउन नसक्ने अवस्थामा पुगेका छन् । प्रचण्डबाट खाएको धोकाकै कारण रिसले देउवा प्रधानमन्त्री ओलीको समर्थनमा पुगेका छन् । आफ्नो अडान, निर्णय, आत्मबल र आत्मविश्वास नभएका उनी जसले जता घुमायो उतै घुम्ने अवस्थामा पुगेका छन् । वितगमा उनले राजनीतिक शक्ति हासिल गर्न अवाञ्छित तत्वको सहारा लिएका कारण पनि अहिले उनी बढी अस्थिर र विचलित मनोदशामा पुगेको देखिन्छ । यही कारण उनी बालुवाटारमा एउटा सहमति गर्छन्, लैनचौर, कोटेश्वर हुँदै खुमलटार पुग्दा अडान फेरिइसकेका हुन्छन् । ओली प्रधानमन्त्री भएलगत्तै प्रचण्ड आशिर्वाद थाप्न भारत हुँदै चीनको भ्रमण गरेका थिए । त्यस घटनाले न ओलीको विश्वास उनीप्रति रह्यो, न त भारत र चीनले नै उनलाई स्वीकार गर्यो । सबैतिरबाट अविश्वसनीय शक्तिका रुपमा चिनिएपछि प्रचण्डको राजनीति धरापमा पर्यो । त्यहीकारण अहिलेको बरबराहट देखिएको छ ।
सेरेमोनियल अध्यक्ष नै बढ्ता भो
प्रचण्डको ढिपीकै कारण पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष बनाए । कार्यकारी भइसकेपछि सिंगो पार्टी सञ्चालनमा केन्द्रित हुनुपर्ने हो । कुनै गुट वा पूर्वसमूह नहेरी सबैको नेता बन्नुपर्ने हो । ओलीलाई विश्वासमा लिएर पार्टीलाई निश्चित कार्ययोजनाका साथ अघि बढाउनुपर्ने हो । तर उनी कार्यकारी होइन, ओलीका विरुद्ध षड्यन्त्रकारी बनेर निस्किए । आम कार्यकर्ताले उनलाई उही रुपमा बुझ्न थालेका छन् । यसले कार्यकारी त के ? यति ठूलो पार्टीको सेरेमोनियल अध्यक्ष दिनु पनि उनका लागि बढी भएको प्रमाणित हुन्छ ।
खराब कारोबारीको मोहजाल
प्रचण्ड बदनाम व्यापारी र खराब कारोबारीसँगको मोहजालमा नराम्ररी फसेका कारण पनि यतिखेर संकटमा परेका हुन् । अजेयराज सुमार्गीको नाममा देखिएको अवैध धनसँग उनको नाम जोडिन्छ । सडक ठेक्कादेखि मलकाण्डमा राज्य र जनतालाई ठूलो घात गरेका शारदाप्रसाद अधिकारीको घरमा प्रचण्डले आश्रय नै लिएर बसेका छन् । जब राज्यले ती खराब व्यापारी र कारोबारीमाथि कठोर व्यवहार देखाउँछ, प्रचण्ड बर्बराउन थाल्छन् ।
आफन्तवादको भद्दा प्रयोग
आफ्नो ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएका नेता कार्यकर्तालाई धोका दिएर केही व्यापारी र आफ्नो पारिवारिक सञ्जाल पोस्न प्रचण्ड लागिपरेका छन् । छोरी मेयर, बुहारी मन्त्री, ज्वाइँ र भतिजाहरु एक से एक पदमा ढलिमलि गरिरहेका छन् । उनका यस्तै आग्रह ओलीले नमानेपछि राजीनामा माग्न सुर कस्छन् ।
आफ्नो काम नगर्ने, ओलीसँग दागा धर्ने
प्रधानमन्त्री ओलीले पाँच वर्ष ढुक्कले सरकार सञ्चालन गर्ने, प्रचण्डले पार्टी गतिविधिमा केन्द्रित हुने सहमति गरेको भोलिपल्टैदेखि प्रचण्ड सरकार परिवर्तनका खेल खेल्न पुग्छन् । यसका लागि अनावश्यक र असान्दर्भिक सर्त र अडान ओलीसामु प्रस्तुत गर्छन्, ताकि निहुँ खोज्न पाइयोस् । पार्टी समायोजनदेखि संगठनलाई पूर्णता दिने काम भने उनले केही गरेका छैनन् ।
जनमतको भ्रम
प्रचणडले ओलीसँग निहुँ खोज्दा आफ्नो पूर्वहैसियतको कहिल्यै ख्याल गरेको देखिएन । माओवादी विसर्जन भइसकेपछि एमालेले उनलाई दिएको ओतबारे पनि पछिल्लो निर्वाचनमा प्राप्त जनमतसँगै बिर्सेको देखिन्छ । पूर्वहिसयत ख्याल गरेको भए अहिले जेजति प्राप्त गरेका छन्, त्यो नै उनका लागि धेरै ठूलो प्राप्ति हो । तर जब उनले ओलीसँग आफूसँग दाज्न पुग्छन्, बालुवाटारको बाडुली लाग्न थाल्छ । पेरिसडाँडामा जमेको धुलो बिर्सन्छन् ।
प्रचण्डसँग अहिले उनकै पूर्वसमूहका कुनै पनि सदस्य छैनन् । अहिले ओलीमाथि आक्रमण गर्न माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रयोग गरे पनि वास्तवमा यस समूहले प्रचण्डलाई नेता स्वीकार गर्न सक्ने छैन । अहिलेकै अवस्थामा ओलीको शासन ढाल्न सजिलो त छैन, केही गरी सफल भइहाले पनि त्यस ठाउँमा प्रचण्ड प्रतिस्थापित हुने छैनन् । माधव नेपालले प्रचण्डलाई नेता मान्नुपर्ने र उनका निम्ति पूर्वएमालेको संगठनप्रति धोका दिनुपर्ने कुनै कारण छैन । माधव नेपालहरुबाट धोका खाएपछि बरु फेरि ओलीकै शरणमा जानुपर्नेचाहिँ हुन सक्छ ।
प्रधान सम्पादक नारायण दाहाल
सम्पर्क 9851021550