गोपाल पराजुलीको बकबकले नहकुल धरापमा

काठमाडाैँ-आफ्ना सबै लोभ, पाप र अयोग्ताको भारी न्यायालयमाथि थुपारेका कारण अन्तिममा बेइज्जतीपूर्वक घर पठाइएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली आफ्नै विगतलाई बिर्सेर बकबक गर्न थालेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र र कीर्ते नागरिकताका भरमा जागिर खाएका पराजुली वर्तमान न्यायिक नेतृत्वको निष्ठामाथि प्रश्न उठाउँदै नैतिकताको पाठ पढाइरहेका छन् ।
मूलधारका सञ्चारमाध्यमले पत्याउन छाडेपछि हालै उनी एक तेस्रो दर्जाको युटुबे च्यानललाई अन्तर्वार्ता दिन पुगेको देखिन्छ । त्यहाँ उनले आफ्ना भडास र कुण्ठाहरु मात्र पोखेका छैनन्, मुलुकको न्यायालय र न्यायिक नेतृत्वलाई लाञ्छित गर्ने अभिव्यक्ति दिएका छन् ।
उनको भनाइको सार छ— प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विगतदेखि नै विभिन्न साँठगाँठ गर्ने व्यक्ति हुन् । साँठगाँठ गरेर नै यो ठाउँमा पुगेका हुन् ।
यहाँनिर स्मरणीय के छ भने अदालतमा कोतर्वका नामले चिनिने तत्कालीन सर्वोच्च अदालतका चार न्यायाधीशलाई सडकमा पुर्याएर जुन योजनाअन्तर्गत तल्ला अदालतका न्यायाधीशलाई सर्वोच्च प्रवेश गराइएको थियो, त्यसमा पराजुली पनि सामेल थिए ।
र, त्यस पर्वबाट सबभन्दा बढी लाभान्वित पनि पराजुली नै भए । यसको अर्थ राणाले जुनजुन तहमा साँठगाँठ गरे, त्यसको अगुवाइ नै पराजुलीले गरे भन्ने निष्कर्ष निस्किन्छ । त्यसैले पराजुलीले अहिले आफू पानीमाथिको ओभानो बन्न राणामाथि हिलो छ्याप्ने काम गर्दै छन् भन्ने प्रस्ट हुन्छ ।
त्यसबेलाका सबै घटनाक्रम यहाँ उल्लेख गर्ने हो भने धेरैको मुखुण्डो उघ्रिन सक्छ । तर न्यायालयजस्तो संवेदनशील निकायको आस्था र मर्यादाको कुरा भएकाले त्यो धृष्टता अहिले नगर्नु नै उचित हुन्छ ।
पराजुलीको अर्को भनाइ के छ भने राणाले अहिले न्यायाधीश र कर्मचारीलाई धम्क्याइरहेका छन् । कारवाही, बर्खासी र घटुवा गरेका छन् । एकजना मुख्य रजिस्ट्रारलाई न्यायाधीश बन्न बाध्य पारे ।
आफै न्यायाधीश र प्रधानन्यायाधीश भइसकेको व्यक्तिले एकजना कर्मचारी न्यायाधीश बन्न पाउनु घटुवा हो कि बढुवा ? राणाले घिसारेर कसैलाई न्यायाधीश बनाउन सक्छन् ?
यदि कुनै कर्मचारीलाई कारवाहीस्वरुप न्यायाधीश बनाएको आजसम्म कतै उदाहरण छ ? न्यायपालिका प्रमुख भइसकेको व्यक्तिले पनि यसो भन्न सुहाउँछ र जनता पत्याउँछन् भन्ने उनलाई कसरी लागेको ? दिउँसै रात पार्नुको पनि हद हुन्छ नि श्रीमान् ।
राणाका विषयमा सुशीला कार्कीले न्यायिक टिप्पणी गरी कारवाही गर्न भनेको तर राणामाथि कारवाही नभएकोमा पराजुलीको ठूलो गुनासो रहेछ । एकातिर पराजुलीले सुशीला कार्की पूर्वाग्रही हुन् भनिरहे ।
आज तिनै कार्कीको फैसला कार्यान्वयन नभएकोमा उनलाई कति चिन्ता ? दामोदरप्रसाद शर्माकै पालामा उपेन्द्रकेशरी न्यौपाने, जो पराजुलीका दाहिना थिए, उनैलाई सोधे भएन र त्यो फैसला किन कार्यान्वयन भएन भनेर ? उपेन्द्रकेशरीकै संयोजकत्वमा फैसला अध्ययन समिति बनाई ठहर खण्डमा केही उल्लेख नभएको र तपसिल खण्डमा मात्रै टिप्पणी गरिएकाले कारवाही गर्नु नपर्ने भन्ने लेख्ने, लेखाउने को थिए ? अहिले आफू उपल्लो दर्जाको देखिन हिजोको कार्पेट लुकाउन मिल्छ र श्रीमान् ?
सार्वजनिक पदमा रहेपछि हरेक पदाधिकारीका सीमा हुन्छन् । त्यसमाथि एकपटकको न्यायाधीश सधैँको न्यायाधीश भन्ने गरिन्छ । न्यायाधीशले के बोल्ने र कोसँग संगत गर्ने भन्नेसम्मा सीमा हुन्छन् । कतिपय आफन्तसँगै भेटघाट र सामाजिक काममा समेत उपस्थित हुन मिल्दैन ।
प्रधानन्यायाधीशले त मुलुकको न्यायिक नेतृत्व गरेको हुन्छ । संवैधानिक परिषदमा प्रतिनिधित्व गरेको हुन्छ । कतिपय राज्यका संवेदनशील सूचना ऊसँग हुन्छन् । फलाक्दै हिँड्ने हो भने के हुन्छ ?
अझ आफैले काम गरेको संस्थामा आफ्नै उत्तराधिकारीमाथि महाभियोग लगाउनुपर्ने जस्तो हिंस्रक सोच पराजुलीले कसरी व्यक्त गर्न सकेका ? एउटा कुनै पनि न्यायाधीशले अर्को न्यायाधीशमाथि यो हदसम्मको कलुष पाल्छ भने मुलुकको न्यायजगतको धरातल कहाँ रहेछ भनेर सुस्केरा हाल्नुपर्ने हुन्छ ।
पराजुलीको आफ्नै पात्रतालाई हेरौँ । उनी कुन नैतिक धरातलमा छन् ? उनले आफ्नो पदको दुरुपयोग मुद्दाका सिलसिलामा कुन हदसम्म गरेका छन् भन्ने सबै कुरा उल्लेख गर्न यहाँ सम्भव छैन । धेरै विवादित मुद्दा राणासँगै उनले हेरेका छन् ।
ती सबैजसो मुद्दामा वरिष्ठ न्यायाधीशका हैसियतमा उनको राय हावी भएको छ । तिनको अध्ययन र छानबिन गर्ने हो भने पनि धेरै कैफियत भेटिनेछ । यतिले नपुगे उनले गरेका फैसला वा आदेशका आधारमा तत्कालीन समयको उनको कारोबार, फोन सम्पर्क र सम्पत्ति विवरण मात्रै केलाउन सके जवाफ त्यसैले दिनेछ ।
विश्वनाथ उपाध्यायलाई लोकतान्त्रिक धारका कानुन व्यवसायी र न्यायकर्मीहरुले आदर्शपात्र ठान्छन् । उनले आफ्ना तीनै भाइलाई प्रधानन्यायाधीश बनाएर इतिहास रच्ने अभीष्ट राखी त्यहीअनुसार रोलक्रममा राखेका थिए । तर उनले आफ्ना भाइलाई नियुक्ति दिँदा न्यायपरिषदको बैठकमा कुनै राय नदिएको भनेर निर्णय पुस्तिकामा लेखाएका छन् ।
न्यूनतम मर्यादा उनले कायम गरे । तर पराजुलीले आफू पदमा हुँदा केके गरे ? एकजना ज्वाइँ नहकुल सुवेदीलाई एकै वर्षमा तीनतीनपटक बढुवा र पुरस्कार दिए । त्यसो गर्दा कतिजनालाई बलि चढाए ? त्यो छुट्टै हिसाब छ ।
एउटा मामूली सहरजिस्ट्रारलाई एकै वर्षमा रजिस्ट्रार, रजिस्ट्रारबाट नयाँ पद नै सिर्जना गरी मुख्य रजिस्ट्रार र न्यायिक इतिहास र परम्परा समेत कुल्चेर सोझै मुख्य न्यायाधीश नियुक्त गर्दा पराजुलीभित्रको न्याय र विवेक कहाँ गएको थियो ?
त्यतिखेर कुन व्यापारिक घरानाको लगानीमा उनका पक्षमा माहौल बनाइयो ? यस कुराको छानबिन हुन आवश्यक छ । पराजुलीले यसैगरी बकबक गर्दै गए उनले गरेका हरेक निर्णय छानबिन र न्यायिक परीक्षणको विषय बन्नेछन्, बन्नुपर्छ । उनले पालेका र पोसेका यस्ता पात्रहरुमाथि झनै अनुसन्धान हुनु आवश्यक छ । भोलि कोही सपुत जन्मिएछ भने यस्ता पात्रमाथि अवश्य अनुसन्धान हुनेछ ।
एउटा न्यायाधीशले गर्न सक्ने अन्याय र पक्षपातको त्यो उग्ररुपका सामु तुलनायोग्य काम राणाले अहिले के गरेका छन् ? आज हरेक न्यायाधीश र अदालतको कर्मचारीले यो प्रश्न गरिरहेका छन् । तर निश्चित के हो भने पराजुलीको यही बकबकले अप्रत्यासितरुपमा अवसर पाएका नहकुल सुवेदीको जागिर जुनसुकै बेला धरापमा पर्न सक्छ ।
सम्बन्धित समाचार
न्यायालयविरुद्ध केके हुँदै छ षड्यन्त्र ? |
अदालतका दृश्य-अदृश्य खलपात्रहर |
अदालतमा खल्ते न्यायाधीशको बिगबिगी |
न्यायालयमाथि आक्रमण गर्ने कि विधिसम्मत उपचार खोज्ने ? |