अंगीकृत नागरिकताधारी सिडियोलाई चड्कन हान्ने देखि मुलुकको भूमि आधिकारिक बनाउन नदिनेसम्म (नालीबेली)

काठमाडौं-अहिले संघीय संसदमा विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएपछि तत्काल नागरिकता दिने कि ७ वर्षपछि दिने भन्ने विषयमा सत्तारुढ र विपक्षी दलहरुबीच कुरा बाझिएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकबाट नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विधेयक बहुमतले पारित भएको छ ।
विधेयकमा रहेको यो प्रावधानको प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका पार्टीले मात्रै होइन, सत्तारुढ दल नेकपाका मधेश केन्द्रीत शीर्ष तहका नेताले समेत विरोध गरेका छन् ।
सरसर्ती हेर्दा त नेपालको बुहारी भएर आएपछि नागरिकता दिनु ठिकै देखिएला । तर, विगतमा दिइएका वैवाहिक अंगीकृत नागरिकताधारीले गरेका हर्कत हेर्यो भने अत्यासलाग्दो छ ।
अहिलेसम्म नेपालको संविधान र त्यसै अनुरुप बनेका ऐन कानुन हेर्यो भने भारत वा तिब्बतबाट नेपाली पुरुषसँग विवाह गर्ने चेलीहरु आएकै दिनदेखि नेपालको अंगीकृत नागरिकता पाउन योग्य हुन्छन् ।
यही व्यवस्था अनुरुप वर्षेनी २० देखि २५ हजार अंगीकृत नागरिकता वितरण हुन्छ । ०४७ हुँदै ०६३ को अन्तरिम संविधानदेखि ०७२ मा जारी संविधानले विवाह गरेकै दिनदेखि वैवाहिक अंगीकृत नागरिकता पाउन सकिने सुविधा दिएका छन् ।
तीनै नागरिकले राष्ट्रहीतका बारे प्रश्न उठ्दा वा राष्ट्रियता प्रदर्शन गर्ने बेला विभिन्न हर्कत गरेका छन् । भर्खरै समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको सीमा मामिलामा देखाएको हर्कतले धेरै नेपालीलाई रुष्ट बनाएको छ ।
सांसद गिरीले नेपालको सीमाबारे आफ्ना सीमाहीन अभिव्यक्ति लिखित र मौखिक रुपमा दिएपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान कसिकसाऊ बनाउने विषयमा बहस चल्यो र सत्तारुढ दलको जोडबलमा वैवाहिक अंगीकृतले विवाह गरेर आएको ७ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान राज्य व्यवस्था समितिको बहुमतबाट पारित भयो ।
गिरी ०६४ देखि अहिलेसम्मको संसदमा मात्र होइन, क्याबिनेट मन्त्रीसम्म बनेकी छन् ।
उनीमात्र होइन, २०६४ सालपछि मधेसमा खुलेका दलले जनमत ल्याउदा विदेशी बुहारी करिमा बेगम, सुरिताकुमारी यादवलगायतका हरुपनि सांसद बन्दै मन्त्रीसम्म भए ।
यतीसम्म कि भारतीय बुहारी करिमा बेगमले कृषि तथा सहकारी राज्यमन्त्री भएको बेला २०६६ कात्तिक २४ गते पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कुटेकी थिइन ।
बेगमलाई सिडियो कुटेको आरोपमा पर्सा जिल्ला अदालतले ६ वर्षपछि २ हजार रुपैयाँ जरिवानासमेत गर्यो ।
नेपालमा अंगीकृत नागरिकताधारी मन्त्रीमात्रै होइन, संवैधानिक निकायमा आयुक्त, प्रदेश प्रमुख र महान राजनीतिक विश्लेषकसमेत भएका छन् ।
पूर्वोत्तर भारतबाट एक नेपाली सुरक्षाकर्मीसँग विवाह गरेर नेपाल आएकी इला शर्मा निर्वाचन आयुक्त बनिन ।
उनले नपाल आएर लामो समय बस्दै अंगीकृत नागरिकतालाई वंशजमा परिणत गरेर निर्वाचन आयुक्त भएकी हुन ।
उनले नेपालमा आएपछि आफूले विवाह गरेका पुरुससँग सम्बन्ध विच्छेद पनि गरेकी छन् ।
तत्कालिन प्रदेश नं ३ र अहिलेको बाग्मती प्रदेशकी पहिलो प्रदेश प्रमुख अनुराधा कोइराला पनि दार्जिलिङमा जन्मिएकी हुन ।
उनी दार्जिलिङबाट काठमाडौंका बोर्डिङ स्कुलमा इङ्ग्लिस पढाउनका निम्ति अनुराधा गुरुङ भएर आइन् ।
एक प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाउँदा पढाउँदै ओखलढुंगाका कोइरालासँग विवाह गरिन् ।
त्यो हैसियतले प्राप्त नागरिकताले २०३७ सालमा डिल्लीबजार, पिपलबोटमा त्रिशक्ति प्रिप्राइमरी स्कुल खोलिन् । कोइरालासँग सम्बन्धबिच्छेद भएपनि नागरिकता जारी छ ।
स्कुल कोइरालालाई छोडेर उनले ‘माइती नेपाल’ नामको सामाजिक संस्था दर्ता गरेर काम सुरु गरिन ।
विभिन्न सामाजिक काममा लागेर देश–विदेशका पुरस्कार पाइन् । राजाले शाहीकालमा मन्त्री बनाइदिए ।
पहुँच र प्रभावको आधारमा अंगीकृत नागरिकतालाई ‘बंशजको’ बनाएर तत्कालिन प्रदेश नं. ३ को पहिलो प्रदेश प्रमुख भइन् ।
नेपालमा थुप्रै त्यस्ता भारतीय चेली आए, जसले नागरिकताका लागि नेपाली पुरुषसँग विवाह गरे । नागरिकता हात परेपछि सम्बन्ध त्यागे तर देश त्यागेनन् ।
त्यतिमात्र होइन अहिलेका महान राजनीकि विश्लेषक भन्ने श्रीकृष्ण अनिरुद्र गौतम पनि भारतमा जन्मिएका हुन ।
नेपालमा आएर पहिला अंगीकृत हुँदै अहिले बंशजको नागरिकता प्राप्त गरिसकेका छन् ।
नेपालमा मात्रै विवाह गरेर आएपछि अंगीकृत नागरिकता दिइन्छ, अन्य मुलुकमा भने निश्चित अवधि तोकिएको हुन्छ ।
भारतमा विदेशबाट विवाह गरेर आएका चेलीको हकमा पनि कम्तिमा ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ ।
जतिबेला भारतमा कंग्रेस आईले बहुमत ल्यायो,त्यसबेलाको घटना हेरौँ ।अध्यक्ष थिइन्, सोनिया गान्धी ।
पार्टीले चुनावमा बहुमत ल्याएपछि स्वाभाविक हो,अध्यक्षलाई प्रधानमन्त्री बनाउन खोजिनु ।
तर, सोनिया प्रधानमन्त्री बन्न सकिनन् । तत्कालिन प्रतिपक्षी दल र अहिलेको सत्तारुढ भारतीय जनता पार्टीको विदेशी बुहारीलाई प्रधानमन्त्रीका रुपमा नस्वीकार्ने अडान ।
इटालीमा माइत भएकी सोनिया प्रधानमन्त्री हुने यात्राबाट बाहिरिइन् । उनको सट्टा मनमोहन सिंह प्रधानमन्त्री बनाइए ।
अमेरिकामा पनि मेडलिन अलब्राइट बिदेशमन्त्री त बनिन् । तर, जब राष्ट्रपति बन्ने मौका आइलाग्यो,तब उनले पाइनन् ।
अमेरिकामै जन्मिएको नागरिक नभएकाले राष्ट्रपति बन्न सकिनन् । राष्टिय सुरक्षा सल्लाहकार जिग्नु बृजेन्स्की र बिदेश मन्त्री हेनरी किसिन्जरको नियती पनि त्यही भएकाले सिनेटरसम्म पनि बन्न पाएनन् ।
नेपालमा भने भारतीय र अमेरिकी प्रभावका मानिसहरुमाथि अहिले विवाह गरेकै दिन पाइने वैवाहिक अंगीकृत नागरिकतामार्फत असिमित राजकीय अधिकार प्रयोग गरिरहेका छन् ।