
रवि लामिछाने राजनीतिमाः बालेन्द्र शाह बन्ने कि रवीन्द्र मिश्र ?
रविको अर्को सम्भावित बिसौनी हो उनीसँगै राशि मिल्ने रवीन्द्र मिश्र । वैकल्पिक शक्ति बन्छु भनेर पत्रकारिता छाडेर राजनीतिमा होमिएका उनले यसैपालिबाट राजनीतिबाट हात उठाएका छन् ।


काठमाडौँ । टेलिभिजनमा धेरै समय चर्को बोलेर आममान्छेको ध्यान तान्न सफल प्रस्तोता रवि लामिछाने अन्ततः चुनावी मैदानमा ओर्लिने भएका छन् । आउँदो संघीय संसदको चुनावमा उनले काठमाडौँको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र वा राप्रपाबाट चुनाव लड्ने तयारी गरेका छन् ।
उनका ससुरा उद्वव पौडेल राप्रपाका नेता हुन् ।त्यसैले सोही पार्टीबाट लामिछानेले चुनाव लड्ने सम्भावना रहेको उनी निकटस्थहरुको आकलन छ । स्वयं लामिछानेले भने यसबारे मुख खोलिसकेका छैनन् ।लामिछाने अहिले ग्यालेक्सी फोरके टेलिभिजनको म्यानेजिङ डाइरेक्टर छन्।टेलिभिजन व्यवस्थापनले उनलाई राजनीतिमा जानुअघि संस्थासँगको आबद्धता टुंग्याउन दबाब दिएको छ ।
लामिछानेले टेलिभिजनमा बसेरै राजनीतिमा लाग्न चाहेका भए पनि व्यवस्थापन र सम्पादकीय टिमले अस्वीकार गरेपछि टेलिभिजनको जागिर छाड्नैपर्ने भएको छ ।सिधा कुरा नामक टेलिभिजन कार्यक्रमबाट धेरैमाझ परिचित लामिछाने उनकै एक सहकर्मीको आत्महत्याले प्रहरी हिरासतसम्म पुर्याएको थियो । त्यस प्रकरणमा उनका पक्षमा उर्लिएको जनसागरबाट उत्साहित भएका लामिछानेले त्यतिखेरै आफू राजनीतिमा लाग्न सक्ने संकेत गरेका थिए ।
ग्यालेक्सी फोरके टेलिभिजन सुरु भएपछि उनले सिधा कुरा कार्यक्रम त्यही टेलिभिजनमा चलाउन थालेका थिए । उनका अधिकांश कार्यक्रम मूलधारका राजनीतिक दल र तिनका नेताप्रति घृणा फैलाउने खालका थिए । एकपटक उनले केपी ओलीको घरमा ढुंगा हान्नुपर्ने भनेपछि ओलीले सार्वजनिक रुपमै आपत्ति प्रकट गरेका थिए ।
यति मात्र होइन लामिछानेले राप्रपाका नेता राजेन्द्र लिङदेनदेखि उज्ज्वलविक्रम थापासम्मका नेतालाई टेलिभिजनमा बढी स्थान दिन खोजेको विषय ग्यालेक्सीको सम्पादकीय समूहमा बारम्बार कुरा उठेको थियो । उनको कार्यक्रम सम्पादकीय नीतिसँग मेल नखाएको भनेरसमेत धेरैपटक कुरा भएको थियो ।
रवि लामिछानेको राजनीति प्रवेशलाई खासै अनौठो मानिएको छैन । किनभने उनी एक महत्त्वाकांक्षी र चर्चाका लागि जे पनि गर्न सक्ने पुरुष हुन् । नेपालजस्तो निम्न चेतना भएको समाजमा यस्ता पात्रहरुका फ्यान फलोइङ पनि धेरै हुन्छन् । अदालतमा मुद्दा चलिरहेका बेला कयौँ दिन हिँडेर उनका पक्षमा नारा लगाउन पुग्ने जमात देखिसकिएको छ । त्यसैले उनी नेपालको जुन निर्वाचन क्षेत्रबाट उठे पनि जमानत अवश्य जोगाउनेछन् भनेर ठोकुवा गर्न सकिन्छ ।
रवि लामिछानेको राजनीतिक भविष्य के हुन्छ भनेर हेर्नचाहिँ आँखैअगाडिका दुई पात्रलाई हेरे पुग्छ । अर्थात् उनका दुईवटा सम्भावना छन्: एक- बालेन्द्र शाह बन्ने । दुई-रवीन्द्र मिश्र बन्ने ।
रवि लामिछाने अहिले बढी नै उत्साहित भएको बालेन्द्र शाहको उदयले नै हो भन्दा फरक पर्दैन । काठमाडौँमा बालेन्द्रजस्तै धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालको उदय भएको छ । कांग्रेस र एमालेजस्ता परम्परागत शक्तिहरुसँग जनतामा चरम वितृष्णा जागेका बेला यिनको उदय भएको धेरैको आकलन छन् । यही मौकामा चौका हान्न अहिले नै अरु धेरै स्वतन्त्रहरुको घोषणाको लहर चलिसकेको छ । खासमा भन्ने हो भने यस लहरमा रवि पछि परिसकेका छन् ।
रवि काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव लडेमा उनका प्रतिस्पर्धी हुनेछन् गगन थापा र राजेन भट्टराई । गगन थापाको राजनीतिमा निकै ठूलो धक्का लागिसकेको काठमाडौँमा बालेन्द्रको उदय र प्रकाशमानपत्नीको पराजयले नै देखिइसकेको छ । यो भनेको राजन भट्टराईका लागि खुसीको खबर हो । किनभने राजन पनि गगनले सहजै हराउन सकेका पात्र होइनन् । उनको जनाधार राम्रै छ, जुन कसैले हल्लाउन सक्दैन ।
त्यही क्षेत्रमा रविको प्रवेश दुवैका लागि चुनौती अवश्य हुनेछ । रवि स्वतन्त्र रुपमै मैदानमा उत्रिए पनि उनका पछाडि राप्रपाको सहयोग रहनेछ । त्यसले पनि उनलाई फाइदै गर्नेछ । विदेशमा रहेको ठूलो जमात रविको समर्थनमा हुनेछ । त्यसैले उनलाई चुनाव लड्न कुनै आर्थिक अभाव हुने छैन ।
रविलाई अब समस्या हुनेछ त केवल एजेन्डाको । के एजेन्डा लिएर मैदानमा उत्रिनेछन् रु यो नै बढी चासो र महत्त्वको हुनेछ । बालेन्द्र स्पष्ट थिए कि उनी स्थानीय सरकारको प्रमुख बन्दै छन् । प्रमुखसँग निश्चित अधिकार हुन्छ । उसले चाहेको काम गर्न सक्छ । ऊ कार्यकारी पनि हुन्छ । काठमाडौँ महानगरकै कुरा गर्ने हो भने त ३ अर्बभन्दा बढी वार्षिक बजेट हुन्छ । ५ वर्षमा १५ देखि २० अर्बको बजेट परिचालन गर्ने अधिकार हुन्छ । तर संघीय सांसद बनेमा यो अधिकार हुँदैन । केवल संसदमा गएर बोल्नेबाहेक अरु कुनै अधिकार हुन्न । स्वतन्त्र वा साना दलका सांसदले संसदमा बोल्न पाउने पनि मुस्किलले ३ देखि ५ मिनेट हो, त्यो पनि कहिलेकाहीँ । मन्त्री बन्नलाई अहिलेको जस्तै जोरजाम गरिएको गठबन्धन बन्नुपर्छ । त्यसैले बालेन्द्र बन्ने भनेर हौसिनु न रविका लागि फाइदाजनक छ न त मतदाताले नै उनमा देउवा देख्नु जरुरी छ ।
रविको अर्को सम्भावित बिसौनी हो उनीसँगै राशि मिल्ने रवीन्द्र मिश्र । वैकल्पिक शक्ति बन्छु भनेर पत्रकारिता छाडेर राजनीतिमा होमिएका उनले यसैपालिबाट राजनीतिबाट हात उठाएका छन् । संयोग नै भन्नुपर्छ ठूला र पुराना शक्तिहरुलाई गालीगलौज गरेर मैदान प्रवेश गरेका रवीन्द्र त्यस्तो समयमा मैदान छाडेर हिँड्नुपरेको छ जतिखेर बालेन्द्रजस्ता कसैलाई गाली नगरेरै काठमाडौँको मेयर जित्न सफल भए । यसरी हेर्दा रविका धेरै गुण रवीन्द्र मिश्रसँग मिल्छन् । रविले अहिलेसम्म आर्जन गरेको छवि भनेकै टेलिभिजनको पर्दामा उभिएर तथानाम फलाक्ने हो । मौजुदा शक्तिहरुको उछित्तो काढ्ने हो । राजनीतिमा पनि उनको मुख्य एजेन्डा र प्रस्तुति यही रहने हो भने रवीन्द्रकै हालत नहोला भन्न सकिन्न ।