
लगानीकर्ताले पत्याएनन् बजेट, सेयर बजार घटेको घट्यै
निरन्तर ओरालो लागेको बजारमा लगानीकर्ताले अपेक्षा गरेजस्ता कार्यक्रम बजेटमा राखिएकै थिएनन्


काठमाडौँ । पुँजी बजार सुधारका लागि भन्दै सरकारले बजेटमा केही कार्यक्रम ल्यायो । तर ती कार्यक्रम बजारलाई तत्कालै प्रभावित पार्ने खालका भने थिएनन् । निरन्तर ओरालो लागेको बजारमा लगानीकर्ताले अपेक्षा गरेजस्ता कार्यक्रम बजेटमा राखिएकै थिएनन् । जसका कारण बजेट सार्वजनिक भएपछिको एक सातामा सेयर बजार साढे ६ प्रतिशतले घटेको छ । लगानीकर्ताले बिक्री चाप बढाएपछि नेप्से २१ सयभन्दा तल झरेको छ । तत्काल अब सेयर बजारमा सुधारको छाँट पनि देखिएको छैन ।
विदेशमा रहेका नेपालीलाई पनि सेयर कारोबारमा सहभागी गराउने र पुँजी बजार विस्तार गर्ने उद्देश्यले गैरआवासीय नेपालीको लगानी खुला गर्ने र वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत आईपीओ सुरक्षित गर्ने कुरा बजेट वक्तव्यमा परेको छ । अर्थमन्त्री जनार्दन शर्माका यी कुरा लगानीकर्ताले पत्याउँदै पत्याएनन् । बजेट सार्वजनिकपछिको ५ दिनमा नेप्से १ सय ४५ अंक अर्थात् साढे ६ प्रतिशतले घट्यो । बजार पुँजीकरण २९ खर्ब ५९ अर्बमा झर्यो । लगानीकर्ताले २ खर्ब ७ अर्ब रुपैयाँ सम्पत्ति गएको एक सातामै गुमाए ।
व्यापार, बिमा, जलविद्युत, बैंकिङ लगायत सूचकमा गिरावट बढी देखियो । दैनिक औसत कारोबार १ अर्ब २१ करोड रुपैयाँ भएको आकडा छ । बजेटमार्फत् पुँजीगत लाभकरको दर घटाउने, सेयर कर्जालाई खुकुलो बनाउने र ब्याजदर घटाउने अपेक्षा लगानीकर्ताहरुको थियो । तर सरकारले त्यतातिर चासो त दिएन नै, तत्काल कार्यान्वयन हुन नसक्ने किसिमका कार्यक्रम ल्यायो । जसले गर्दा बजेट बजारलाई सकारात्मक दिशा दिन सकेन ।
बजार घट्नुको प्रमुख कारण भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव र चर्को ब्याजदर नै हो । चुनावपछि बैंकिङ प्रणालीमा १४ अर्ब तरलता त थपियो तर बैंकहरुले ब्याजदर घटाएका छैनन् । तत्काल घट्ने संकेत पनि देखिएका छैनन् ।
बजेटले उत्साहित बन्न नसकेका लगानीकर्ताको नजर अब मौद्रिक नीतितिर केन्द्रित भएको छ । असार अन्तिमतिर सार्वजनिक गरिने मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा खुकुलो बनाइए केही राहत हुन सक्छ । यद्यपि आर्थिक वर्षको अन्तिमसम्म पनि सरकारको पुँजीगत खर्च वृद्धिमा उत्साह नदेखिएको र तरलता अभाव कायमै रहेको अवस्थामा आउँदा अझै केही महिना सेयर बजार दबाबमै रहने देखिन्छ ।
प्राविधिक विश्लेषणमा बजार २१ सयको मनोवैज्ञानिक रेखाभन्दा तल झरिसकेको छ । अर्थतन्त्रका आधारभूत सूचक दबाबमा रहेका बेला प्राविधिक सूचकले पनि उत्साहको संकेत गरेका छैनन् । त्यसैले बजारले कुन बाटो लिन्छ भनेर तत्काल भन्न नसकिने विश्लेषकहरुको मत छ ।