माधव नेपालको घरभँडुवा नीतिप्रति ओली रुष्ट, अब प्रचण्ड र वामदेवसँग मात्र वार्ता गर्ने

शनिबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालको निवासमै पुगेर खुमलटारमा वार्ता गरे । मन माझामाझ पनि गरे । प्रधानमन्त्री ओलीले नै उपाध्यक्ष वामदेव गौतमलाई पनि त्यहीँ बोलाएका थिए । केहीबेर वार्तामा वामदेव पनि वार्तामा मिसिए ।
जब माधव नेपाल भिलेन शैलीमा त्यहाँ प्रवेश गरे, ओलीको उनको मुख पनि हेर्दिनँ भन्दै बाहिर निस्किए । त्यहाँबाट ओली सोझै पुल्चोकस्थित मन्त्रीनिवासमा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरे । त्यहाँ अरु मन्त्रीहरुको पनि भेला भयो । त्यहाँबाट निस्केर उनी बालुवाटारमा केहीबेरको आरामपछि शीतलनिवास पुगे ।
ओलीको यो म्याराथन दौड निकै अर्थपूर्ण छ । खासगरी दाहाल निवासमा नेपाल पस्नेबित्तिकै आफू निस्किएर ओलीले खास सन्देश दिएका छन् ।
माधव नेपालको भूमिकाप्रति ओली निकैअघिदेखि रुष्ट थिए । माओवादीसँग एकता गरी नेकपा बनाउँदा पनि उनले सकारात्मक भूमिका खेलेका थिएनन् । उनको सन्दिग्ध भूमिकाकै कारण ओलीले अन्तिम समयमा मात्र जानकारी दिएका थिए ।
माधव नेपालप्रति ओलीको आशंका अहिले पुष्टि हुँदै छ । उनी प्रचण्डलाई परिबन्दमा पारेर ओलीसँग मिल्नै नसक्ने अवस्थामा पुर्याउन खोज्दै छन् । उनको यस दुर्वासा चरित्रबाट आजित ओली जसरी पनि नेपाल र दाहालको लगठगाँठो टुटाउने प्रयासमा छन् । भित्रभित्रै यसको सम्भावना पनि बढ्दै गएको छ ।
दुई तिहाइ बहुमतको सरकार बनाएर नेपाली कम्युनिस्ट इतिहासमै पार्टीलाई उच्च स्थानमा पुर्याएको बेला यसलाई सफल र ऐतिहासिक बनाउन सहयोगी भूमिका खेल्नुको साटो आफ्नै घर भाँड्न भूमिका खेलेपछि माधव नेपालप्रति प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली रुष्ट बनेका छन् । जनताले आफ्नै हातबाट संविधान जारी मुलुकमा राजनीतिक स्थायित्वको नयाँ अध्याय सुरु भएका बेला माधव नेपाल विदेशीको गोटी बनेर अस्थिरता मच्चाउन लागिपरेको ओलीको निष्कर्ष छ ।
ओली र दाहालबीच भइसकेका सहमति समेत माधव नेपालले धेरैचोटि भाँडेका छन् । धेरैपटक ओलीसँग सहमति जनाइसकेका दाहाल माधव नेपालकहाँ पुगेपछि सहमतिबाट पछि हटेका छन् । तुलनात्मक रुपमा ओली उदार, व्यावहारिक र वचनबद्ध नेतामै गनिन्छन् । उनको यही विशेषताकै कारण निकै चर्का विरोधी मानिने नेता दाहालसँग निकै नै तिक्ततापूर्ण अवस्थाकै बीच पनि वार्ता गरी २०७४ मा चुनावी तालमेलका लागि हात बढाएका थिए । चुनाव सकिएपछि पार्टी नै एक गराउन तयार भए ।
ओली र दाहालबीचको यस समझदारीले आफू एक्लिन पुगेको ठानेर नेपालले एकताविरुद्धको अभियान सुरु गरे । यसका निम्ति उनले स्वदेशी विदेशी शक्तिको साथ लिन थाले । पार्टी एकता हुनुअघि नै भाँड्न तम्सिएका नेपालले एकता भइसकेपछि पनि अपनत्व लिएका थिएनन् । तर, आफ्नै बलबुतामा ओलीविरोधी वातावरण बनाउन मुस्किल थियो । त्यसैले उनले कहिले वामदेव गौतमको असन्तुष्टिलाई त कहिले प्रचण्डको महत्वाकांक्षालाई हतियार बनाउन खोजे ।
भारतीय नाकाबन्दीविरुद्ध अडान लिएका, चीनसँग दीर्घकालीन महत्वका समझदारी गरेका र पछिल्लोपल्ट राजा महेन्द्रले समेत बोल्न नसकेको कालापानी मुद्दामा स्पष्ट अडान राखेर छुटेको भूगोल समेत नक्सामा समटेर वार्ताको पहल गरेका कारण ओलीसँगै नेपाल राष्ट्रको स्वतन्त्र व्यक्तित्व अन्तर्राष्ट्रियरुपमै फराकिलो र उँचो बनेको छ । यही बेला ओलीलाई कमजोर बनाउन सकिन्छ कि भनेर लागिपरेका विदेशीसँगसमेत नेपाललले साँटगाँठ गरिरहेको रिपोर्ट ओलीले पाएका छन् ।
त्यसो त माखाको पित्तबराबर पनि चित्त नभएका भनेर चिनिएका नेपाललाई ओलीले उहिल्यै नचिनेका होइनन् । १५ वर्ष नेकपा एमालेको नेतृत्व गरेका नेपालले ओलीलाई राजनीतिक रुपमा माथि उठ्नै नदिन भूमिका खेलेका थिए । पार्टीका १६ वटा विभागमध्ये एकाध आफ्नो पक्षका नेतालाई दिन आग्रह गर्दा पनि नेपालले अस्वीकार गरी एकलौटी गरेका थिए । नेपालको यस्तै चरित्रबाट आजित भएपछि वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली जस्ता नेताहरु पार्टीबाटै बाहिरिएका थिए । २०५४ सालमा पार्टीले फुट बेहोर्नुपरेको थियो । तैपनि, ती सारा कुरा बिर्सेर २०६५ सालमा ओलीले दुई–दुई ठाउँबाट पराजित भएको अवस्थामा पनि नेपाललाई संविधानसभा सदस्य र प्रधानमन्त्री बनाउन भूमिका खेलेका थिए । पार्टीमा पनि दुई अध्यक्षपछिको वरीयतामा राखेका थिए ।
तर यति गर्दा पनि माधव नेपालले कृतघ्न चरित्र देखाए । ओली सरकारलाई असहयोग गर्न नेपालले अनेक हत्कण्डा अपनाएपछि ओली पनि के कम रु नेपाललाई साइजमा नराखेसम्म पार्टी र मुलुकको भलो नहुने निष्कर्षमा ओली पुगेका छन् । नेपालकै रिसले उक्त खेमाका भीम रावल, सुरेन्द्र पाण्डेजस्ता होनहार नेतालाई पनि ओलीले सत्ताको नजिक ढिम्किन दिएका छैनन् । सरकारमा रहेर राम्रै काम गरिरहेका शेरबहादुर तामाङ, गोकर्ण विष्ट, लालबाबु पण्डितलगायतलाई निकालिदिए । त्यस ठाउँमा बरु वामदेव गौतम पक्षधर नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई लगायतलाई भित्र्याए । सूर्य चिन्ह लिएर उठेका हृदयेश त्रिपाठीसम्मलाई मन्त्री बनाए तर नेपाललाई वास्ता गरेनन् ।
अहिले पनि भित्रभित्रै दाहाल र गौतमसँग वार्ता भइरहेको छ । उक्त वार्ता सहमतिनजिक पुगेको बुझिएको छ । संसद अधिवेशन सुरु हुनुभन्दा अघि वार्ताको नतिजा देखिने विश्वास छ । हिजो पनि दाहाल र गौतम सँगै राखेर ओलीले कुरा गरेका छन् । शुक्रबार दाहाल–नेपाल खेमाको पेरिसडाँडास्थित भेलामा बोलाउँदा गौतम सहभागी नै भएनन् भने शनिबार पनि खुमलटारबाट ओली निस्किनेबित्तिकै दाहाल पनि निस्किएका थिए ।
यस हिसाबले हेर्दा प्रचण्डको काँधमा बन्दुक पड्काएर ओलीलाई शक्तिच्यूत बनाउने र आफू स्थापित हुने माधव नेपालको चतुर्याइँ आत्मघाती सिद्ध हुने देखिँदै छ । तर विडम्बना, ओली र नेपालको यस प्रतिशोधपूर्ण व्यवहारका कारण भीम रावल, सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, गोकर्ण विष्टजस्ता सम्भावनायुक्त नेताहरुको भविष्य धरापमा परिरहेको छ । र, यसको मूल्य नेकपा र सिंगो मुलुकले नै चुकाउनुपरेको छ ।