ओलीविरुद्ध अविश्वास प्रस्ताव तयारी, सत्ता संकट टार्न केके छन् विकल्प ?

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सत्ता संकट गहिरिँदै गएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम बिच्किएर ओलीसँग बोलचालै नगर्ने अवस्थामा पुगेका छन् । अब एकैपटक पार्टीको बैठक बोलाएर ओलीलाई त्यहीँ अल्पमतमा पार्ने दाहाल खेमाको रणनीति छ । तत्कालै सचिवालय बैठक बोलाएर ओलीमाथि कारवाहीको डण्डा चलाउने तयारी दाहालसँगै माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले गरेका छन् ।

यता प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठकको तयारी हुँदै छ । त्यही बैठकलगत्तै स्थायी समिति र केन्द्रीय समितिका बैठक डाक्ने योजना ओलीविरोधी खेमाले बनाएको छ । अब कुनै हालतमा सम्झौता पनि नगर्ने अडानका साथ अघि बढेको यस खेमाले अब कत्ति पनि कमजोरी नहुने गरी ओलीलाई भित्तामा पुर्याउने रणनीति बुनेको छ ।

उता नेपाली कांग्रेसले समेत केन्द्रीय कार्यसमिति बैठक यही मौकामा बोलाएको छ । कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बस्दै छ । अहिलेसम्म नेकपा संस्थापनको भातृ संगठनजस्तो गरी कांग्रेसलाई चलाएको आरोप खेपेका देउवाले पनि ओलीविरुद्ध कठोर कदम चाल्न सक्ने संकेत पाइएको छ ।

बुझिएअनुसार, यसबीचमा नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाका बीचमा शृंखलाबद्ध छलफल भएका छन् । खासगरी भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयल आएपछि राजनीतिक घटनाक्रम तीब्र बनेका हुन् ।
स्रोतअनुसार, कांग्रेसले कोभिड–१९ संकटको विषयमा छलफल गर्न भन्दै यही कार्यसमिति बैठकबाट संसदको विशेष अधिवेशन माग गर्ने र यसबारे छलफल सुरु नहुँदै दाहाल र देउवा मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गुप्त योजना बनेको छ ।

यसपालि ओली सरकार जसरी पनि ढाल्नेमा नेकपाभित्रैको विरोधी खेमादेखि कांग्रेससम्म एकमत भएको स्रोतको दावी छ । कांग्रेस समेत तयार भएपछि जनता समाजवादी पार्टी पनि ओलीको विपक्षमा मत दिनेछ । बाबुराम भट्टराईले त धेरै अघिदेखि ‘रिमुभ ओली’ अभियान चलाइरहेकै छन् । बाबुरामसँग रअ प्रमुख सामन्त गोयलको भेटमा यसबारे विस्तृत योजना बनेको हो ।

दाहालले ओलीलाई हरेक मोर्चामा कमजोर बनाउन प्रदेशमा ओली खेमाको विरुद्धमा बहुमत देखाउनेदेखि पार्टी कमिटीबाट अनुशासनको कारवाही गर्नेसम्मको योजना अघि सारेका छन् । कर्णाली प्रदेशमा ओली पक्ष संसदीय दलमै अल्पमतमा परिसकेको छ । अब प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी दाहाल खेमाले गरिसकेको छ ।
सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने, स्थायी समितिले एजेन्डा तय गर्ने र तत्कालै केन्द्रीय समिति बैठक डाकेर ओलीलाई कारवाही गर्ने रणनीति दाहाल पक्षको रहेको

सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने, स्थायी समितिले एजेन्डा तय गर्ने र तत्कालै केन्द्रीय समिति बैठक डाकेर ओलीलाई कारवाही गर्ने रणनीति दाहाल पक्षको रहेको छ ।
कालापानी मुद्दामा ओलीले भारतसँग नझुक्ने अडान राखेपछि साउथ ब्लकले नै उनलाई गलाउने रणनीति लिएको र त्यसमा नेपालको ओलीविरोधी तप्का पनि तयार भएको बुझिएको छ ।

ओली सीमित व्यक्तिको इशारामा चलेको, पार्टी पंक्तिलाई अवहेलित गरेको र यती, ओम्नी लगायतका ठूल्ठूला प्रकरणमा विवादित बनेको कारण अलोकप्रिय बनेका छन् । पछिल्लोपल्ट कोभिड उपचार र परीक्षणमा शुल्क असुल्ने निर्णयले ओलीले जनसमर्थन अझै गुमाएका छन् । बीआरआई अन्तर्गतका कुनै पनि परियोजना अघि नबढेपछि ओलीप्रति उत्तरी छिमेकी चीन पनि बेचैन छ । अहिले ओलीसँग खुसी कोही छ भने पश्चिमा शक्ति मात्र रहेको छ ।

सबैतिरबाट घेराबन्दीमा परिसकेका ओलीसँग अब जोगिनका लागि निकै सीमित विकल्प छन् । ती विकल्प केके छन् त रु यसबारे हामी अर्को शृंखलामा चर्चा गर्नेछौँ ।
(आगामी शृंखलाः सत्ता संकट टार्न केके छन् विकल्प )?