अनिश्चिचकाल बन्द भएको केएमसीका सबै सेवाहरु सुचारु

काठमाडौं। काठमाडौं मेडिकल कलेजका सबै सेवाहरु सुचारु भएको छ । आइतबार बिरामीका आफन्तले कलेजका डाक्टरलाई कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकहरु आजबाट काममा फर्किएका हुन् ।

आइतबार केएमसीको नेफ्रोलोजी विभागका कार्यरत इन्टर्न डाक्टर मनिष खड्का माथि तीन जनाको समुहमा आएकाहरुले कुटपिट गरेका थिए । घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल र सिनामंगल बस्ने रुपक गौतम र सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन् । एक जना फरार रहेका छन् ।

‘आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको तथा फरार रहेका एक जनालाई तत्काल पक्राउ गर्न दबाव दिन अस्पतालको सेवाहरू प्रभावित नहुने गरी दवाबमुलक कार्यक्रम यथावत राख्नेगरी डाक्टरहरूले सेवाहरू सूचारू गर्नु भएको छ । केएमसीका सबै सेवाहरु सूचारु भएका छन् ।’ केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ ९पहिलो संसोधन २०७९० बमोजिम घटनामा संलग्न हरूलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने काठमाडौं मेडिकल कलेज र त्यहाँका चिकित्सकहरुको माग छ । सोहि अनुसार प्रहरीले २ जनालाई पक्राउ गरी अदालतमा पेश गरेकोले अबका दिनमा स्वास्थ्य संस्थामा आक्रमण गर्ने तथा डाक्टरमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी दण्ड सजाय हुन सक्नेछ ।

यसअघि नेपाल चिकित्सक संघ र नेपाल सरकारविच भएको सहमति विपरित डाक्टरहरुलाई कार्यस्थलमै आक्रमण भएकाले केएमसीका डाक्टरहरुले इमरजेन्सी सेवा वाहेक अन्य सेवाहरु स्थगित गरेका थिए । आक्रमणबाट केएमसीका डाक्टर खड्का सहित स्वास्थ्यकर्मी ज्योती देवकोटा समेत घाइते भएकी थिइन् ।