पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

काठमाडाैँ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।

नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन् । विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदायिक विद्यालय नजिकका विद्यालयमा गाभ्न (मर्ज)को तयारीमा रहेको जनाइएको छ ।

पाँचखाल –१३ स्थित गङ्गा प्राथमिक विद्यालयमा एक शिक्षक र दुई विद्यार्थी, ८ नं वडास्थित जनज्योति प्राविमा दुई शिक्षक र चार विद्यार्थी, ११ नं वडास्थित धरणी प्राविमा एक शिक्षक र पाँच विद्यार्थी तथा समाज सुधार प्राविमा दुई शिक्षक र पाँच विद्यार्थी, वडा नं ९ को सरस्वती प्राविमा दुई शिक्षक र चार विद्यार्थी र ६ नं वडास्थित भमरकोट हिमालय प्राविमा तीन शिक्षक र छ विद्यार्थी हाल अध्ययनरत छन् । यी विद्यालयमा कूल ११ शिक्षकले २६ विद्यार्थीलाई शिक्षण गरिरहेका हुन् ।

नगर शिक्षा शाखाले विद्यालयमा अत्यन्त न्यून विद्यार्थी सङ्ख्या हुँदा अध्यापनमा निकै असहज अवस्था आएकाले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलानसम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जनाएको छ । “हामीले विद्यार्थी न्यून रहेका विद्यालय नजिकको विद्यालयमा मर्ज गर्ने तयारी गरिरहेका छौँ, त्यसका लागि विद्यालयसमेत छनोट भइसकेको छ”, शिक्षा शाखा प्रमुख उदय कोइरालाले भन्नुभयो ।

उहाँका अनुसार सात प्रावि तथा एक आधारभूत विद्यालय मर्जको तयारी गरिएको हो । नगर शिक्षा समितिले मर्ज गर्ने विद्यालयका विषयमा कार्यपालिकामा पेश गरिसकेको कोइरालाले बताउनुभयो । उहाँका अनुसार अन्य दुई विद्यालयमा चार शिक्षक र २८ विद्यार्थी रहेपछि ती विद्यालय पनि मर्जको तयारीमा रहेका छन् । पाँचखाल नपा–१२ को नारायण प्राविमा दुई शिक्षक १४ विद्यार्थी र वडा नं ६ को झिङ्गना प्राविमा दुई शिक्षक र १४ विद्यार्थी रहेकाले यिनीहरुको समेत मर्जको तयारी गरिएको हो ।

शिक्षा शाखाका अनुसार नारायण प्राविको समायोजन नजिकको आजाद माध्यमिक विद्यालय र झिङ्गना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ । अन्य मर्ज तगर्ने तयारी भइरहेकामा गङ्गा प्रावि जागृति आधारभूत विद्यालयमा, धरणी प्रावि गङ्गादेवी आधारभुत विद्यालयमा, सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा, जनज्योति प्रावि जनता माविमा, समाज सुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय प्रावि जोरपाटी माविमा समायोजन हुने जनाइएको छ ।

नगरले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालय गाभ्ने तयारी गरेको जनाएको हो । शिक्षा समितिले पनि विद्यार्थी–शिक्षकको अनुपात नमिलेका पाँचखालका विद्यालय विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा समायोजन गर्न कार्यपालिकासमक्ष सिफारिस गरेको जनाएको छ ।

मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुनेछन् । जसमध्ये १३ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र १३ प्रावि रहनेछन् । नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ ।

यस्तै नियमावलीमा प्राविमा शिक्षक एक, प्राविमा ५० जनासम्म विद्यार्थी भएमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा कम्तीमा सात जना शिक्षक रहने व्यवस्था छ । –––