एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैँ। चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ । यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुने मध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै आजै भएको क्वाटरफाइनलअन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।