दोलखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लप्ची नाका खुला

दोलखा। दोलखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लप्ची नाका खुला भएको छ। जिल्लाको विगु गाउँपालिका वडा नं १ मा पर्ने चिनसँग जोडिएको लप्ची सिमा नाका आइतबारदेखि खुला भएको हो ।

विगत करिब ४ वर्षदेखि बन्द अवस्थामा रहेको यो नाका नेपालीहरुको महान चाड विजयाबदशमी नजिकिँदै गर्दा खुला भएको छ । नाका खुल्ला भएसँगै यहाँका स्थानिय खुसी भएका छन् । यो लप्ची दुर्गम क्षेत्रमा पर्दछ । कोरोना महामारीका कारण नाका बन्द अवस्थामा रहेको थियो । लप्ची नाका बन्द भएपछि यहाँका बासिन्दाले आर्थिक स्रोत जुटाउन नसक्दा राजधानी काठमाडौंतिर जानु पर्ने बाध्यता थियो ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन गए लगत्तै सो नाका खुलेको यहाँका स्थानीयवासी बताउछन् । यहाँका स्थानियले घिउ,याक,चौंरीका बाच्छा यो नाका हुदैँ तिब्बती बजारमा लगेर बेच्दै जिविकोपार्जन गर्दै आएका छन् । लामाबगरसम्म सवारी साधनमा गएपछि पैदल यात्रामा करिव दुई दिन हिँडेपछि मात्र लप्ची पुग्न सकिन्छ। लप्ची नाका खुल्ला नहुँदा लप्चीबासी मारमा परेका थिए ।