वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

 वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको बधाई

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

https://barnanmedia.com/detail/1695508038-lii-bii-ow-23-09-24

एमालेलाई धेरै समस्या छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपथ्र्यो, त्यसरी उठेन, बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।” तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण

 स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । आँखा शिविरमा छ सय १७ जना महिला र पाँच सय छ जना पुरुषले सेवा लिएको न्यौपानले बताउनुभयो । उहाँका अनुसार मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोगमा वालिङमा सञ्चालित जिल्ला आँखा अस्पतालमा आँखाका बिरामीको उपचार हुँदै आएको छ ।

लालबहादुर कुँवरको अहम् सम्बोधन गर्न सम्पूर्ण करिअर न्यायाधीशमाथि प्रहार

 सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरको इगो सम्बोधन गर्न हाल जिल्ला अदालतमा रहेका, जिल्ला हुँदै उच्चमा पुगेका र पुग्न सक्ने न्यायाधीशको वृत्ति विकासमा आजीवन धक्का पुग्ने गरी न्यायपरिषद नियमावली संशोधन गरिएको छ। अब कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएमा वरीयतामा सबैभन्दा अगाडि हुनेछन् र नियुक्त भएको भोलिपल्टै मुख्य न्यायाधीश पनि बन्नेछन् । अहिले उच्च अदालतमा ६ वटा मुख्य न्यायाधीशका पद खाली छन् । एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौला सर्वोच्च अदालतमा नियुक्त हुँदै छन् ।

न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको मापदण्ड प्रभावित पार्नेगरी आफ्नो नियमावली संशोधन गरेको छ। न्यायपरिषद् पहिलो संशोधन नियमावली, २०८० असोज १ गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

संशोधित व्यवस्थाले न्याय सेवाका कर्मचारीलाई न्यायाधीश नियुक्तिमा प्राथमिकता र सुविधा हुने भएको छ। अनुसार अब मुख्य रजिस्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्ति हुँदा बहालवाला मुख्य न्यायाधीशभन्दा मुनिको वरीयतामा हुनेछन्। तर, बहालवाला न्यायाधीशहरूभन्दा मुख्य रजिस्ट्रारबाट न्यायाधीश बन्ने व्यक्ति अघिल्लो वरीयतामा रहनेछन्।

https://barnanmedia.com/detail/1695511014-llb-a-b-a-rz-23-09-24

विधान अभिमुखीकरण गर्दै जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रेम शरणम सार्वजनिक

चलचित्र ‘पशुपतिप्रसाद-२ : भष्मे डन’को गीत ‘प्रेम शरणम...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर छ भने कृष्ण भारध्वजको संगीत रहेको गीतमा शब्दरचना सुशील पौडेल र कृष्ण भारध्वजले दिएका छन् ।

गीतमा चलचित्रका मुख्य पात्र विपिन कार्की, स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड हुनुहुन्छ ।

भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै

हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

 १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्पति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो । साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी हुनुभयो । उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो ।

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।

चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“वार्तामा दुवै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने विषयमा छलफल भएको छ”, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ ।

मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने

मधेस विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको नाम दर्ता भइरहेको र आउँदो मङ्सिर ४ गतेदेखि पठनपाठन सञ्चालन हुने विश्वविद्यालय प्रशासनले जनाएको छ ।

“कानुन सङ्कायतर्फ बीए एलएलबीमा भर्ना हुने विद्यार्थीको छनोट प्रवेश परीक्षा (इन्ट्रान्स)माध्यमबाट गरिएको र इन्ट्रान्सबाट छनोट भएका विद्यार्थीको यही असोज १५ गतेसम्म नाम दर्ता हुन्छ”, मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भन्नुभयो, “त्यसपछि हिन्दू धर्मावलम्बीहरूको चाडपर्व नै सुरु हुन्छ, त्यसैले छठपर्वपछि कक्षा सञ्चालन हुनेछ ।”

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाले आज टुंगो पाउला त ?

 क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आज आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित ९गौशाला(२६० घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

https://barnanmedia.com/detail/1695519458-l-l-aa-ul-vc-23-09-24

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

 “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।

सांसदसँग राससको अन्तक्र्रियामा उहाँले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गर्नुभयो, “म आफँैलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ।”

राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने

राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमतिप्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमतिप्रति राहतका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन् । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहतका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् । शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।

https://barnanmedia.com/detail/1695521498-aal-aa-bl-23-09-24

इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन सेनापति शर्मा आज नयाँदिल्ली जाँदै

 प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज आइतबार भारतको नयाँदिल्ली जाँदैछन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन् ।
सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डोप्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनेछन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ ।

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

 बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो ।

तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उहाँले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आउनुभएको छ ।

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

 पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ ।

फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।

प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनुभएको हो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक पौडेलले बताउनुभयो ।

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ ।

कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने तथा तालिम सामग्रीलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ । खरिद तथा सम्झौता व्यवस्थापनका विविध आयामलाई समेटेर पूर्ण अन्तक्र्रियामा आधारित सार्वजनिक निकायको खरिद क्षमता अभिवृद्धि गर्न चालु आर्थिक वर्षमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रममा सबै स्थानीय तहलाई सहभागी बनाइने सचिव डा दामोदर रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्षमा गण्डकी प्रदेश र बागमती प्रदेशमा सञ्चालित उक्त कार्यक्रमको प्रभावकारिता र सहभागीबाट व्यक्त विचारका आधारमा कार्यालयले ती प्रदेशका यसअघि सहभागिता जनाउन नपाएसहित सबै स्थानीय तहको क्षमता अभिवृद्धि गरिनेछ ।”

https://barnanmedia.com/detail/1695525518-l-b-lii-co-23-09-24

तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए ।

एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर सभामुख स्वदेश फर्किंदै

सभामुख देवराज घिमिरे आज आइतबार स्वदेश फर्किंदै छन् । उनी एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर बिहान ९ः३० बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

https://barnanmedia.com/detail/1695527060-e-l-aal-fx-23-09-24

ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम

 सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो । ती कार्यक्रममा कुन निकायले के–कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ ।

सरकार र सरकार मातहत रहेका सबै निकायलाई उत्तिकै जिम्मवार र जवाफदेही बनाउने, नीतिगत तथा कानुनीरूपमा रहेको अड्चन हटाउने तथा प्रक्रियागतरूपमा लाग्दै आएको समय कम गर्दै दिगो र दीर्घकालीन विकासलाई प्रमुख प्राथमिकता दिने विषयलाई उच्च महत्व दिइएको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रले विकास गरेपछि त्यसलाई नै थप अगाडि बढाउने लक्ष्यका साथ स्पष्ट काार्ययोजना अगाडि सारिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध

 २ दिनदेखिको निरन्तर वर्षासँगको बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन्। लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।