स्वागत समारोहमा उपराष्ट्रपति

काठमाडाैँ।उपराष्ट्रपति रामसहायप्रसाद यादव साउदी अरबको ९३औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि साउदी अरबका राजदूत साद नसिर ए अबुहमेदले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, विभिन्न सामाजिक सङ्गठनका पदाधिकारी तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अबुमेहदले पाँच लाखभन्दा बढी नेपालीले साउदी अरबमा सेवा प्रवाह गरिरहेका बताउनुभयो । उहाँले साउदी अरब र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएयता मानव संशाधन विकास, व्यापार तथा ऊर्जाका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको बताउनुभयो ।

साउदी अरबका राजदूतले नेपालको जलविद्युत्, सिँचाइ, आधारभूत भौतिक पूर्वाधार परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका निम्ति विकासका लागि साउदी कोषबाट १५ करोड अमेरिकी डलर उपलब्ध गराएको जानकारी दिनुभयो ।