के उसले मलाई माया गरेको थियो ?

सधैंजसो बिहान पृथ्वीनारायण क्याम्पस गेट अगाडि बसेर चिया पिउनु मेरो दैनिकी जस्तै हुन्थ्यो।

साथीहरू सँगै बसेर रमाइलो गफसँगै तातो चियाको चुस्की लिइरहेका बेला क्याम्पस गेटको चिसो सिरेटोले स्पर्श गर्दाको मज्जा नै बेग्लै। सदा जस्तै त्यो दिन पनि म ६:०० बजे नै त्यहाँ पुगिसकेको थिएँ। तर साथीहरू कोही आइपुगेका थिएनन्।

चिया पसलको कुर्सीमा बस्दै एक कप चिया बनाउन अनुरोध गरें। यत्तिकैमा मेरो नजिकै एक जना युवती नमस्कार गर्दै आइन्। मैले नमस्कार फर्काएँ।

चिन्न सकिनँ। सोधें, ‘चिन्न अलि गाह्रो भयो क्यारे!’

उनले हाँस्दै जवाफ फर्काइन्, ‘म हजुरलाई राम्रोसँग चिन्छु। हामी सामाजिक सञ्जालमा साथी छौं नि!’

‘ए हो र? खुसी लाग्यो, त्यसो भए। अब म पनि चिनौं न’, मैले भनें।

उनले सहजै आफ्नो परिचय दिइन्। यत्तिकैमा मेरो चियाको कप आयो, मैले सोधें, ‘चिया पिउछ्यौ ?’

‘नाइँ म हतारमा छु एउटा काममा हजुरले सहयोग गरिदिनुपर्‍यो!’ उनले भनिन्।

‘कस्तो काम भन न म सकेको गरौंला नि त! काम बताउँदै गर्दा चिया पनि लिऊँ न’, मेरो कुरामा उनले सहमति जनाइन्। मैले अर्को कप चिया बनाउन अनुरोध गरें।

‘अँ! भन त के काम हो?’

‘एउटा सर्टिफिकेट बनाउनुपर्ने थियो।’

‘कस्तो सर्टिफिकेट?’ मैले सोधें।

उनले भनिन्, ‘मैले जापानको लागि एप्लाई गर्दैछु। त्यसको लागि यस क्याम्पसमा पढ्दै गरेको भन्ने खालको हुन्छ रे नि त!’

‘मैले बुझें, रनिङ सर्टिफिकेट रहेछ। हुन्छ नि’, मैले भनें।

हामी दुवै जना चिया पिइसकेर क्याम्पस भित्र गयौं र उनको काम सकायौं। छुट्ने बेलामा मोबाइल नम्बर साटासाट गरेर बिदा भयौं।

समय बितिरहेको थियो। केही समयपछि उनले मलाई कल गरिन् र पहिलेकै ठाउँमा भेटौं न भनिन्। तर म त्यो दिन पोखरा थिइनँ। त्यसकारण हाम्रो भेट हुन सकेन।

दुई दिनपछि म पोखरा आएँ अनि मैले कल गरें त्यसपछि हाम्रो भेट भयो। उनी निरास थिइन्, सबै कुरा बुझ्दा उनको जापानको प्रोसेस असफल भएछ। मलाई पनि दुःख लाग्यो। मैले भनें, ‘केही भएको छैन अझै पनि केही बिग्रेको छैन। आफ्नो अध्ययनलाई अगाडि बढाऊ।’

उनले मानिनन्, विदेश नै जान चाहेको कुरा जाहेर गरिन्।

‘त्यसो भए पीटीई गर’, मैले भनें।

उनले घरमा सोध्नुपर्ने बताइन्। त्यही बसाइको क्रममा धेरै कुराकानी भए। मलाई बल्ल थाहा भयो। उनी मभन्दा दुई महिना जेठी रहिछन्। मैले जिस्क्याएँ, ‘दिदी भन्छु ल अब?’

‘छ्या! त्यस्तो केही नभन्नुस्’, उनले भनिन्।

‘हस्!’ मैले भनें।

‘आज म पैसा तिर्छु है?’ उनले भनिन्।

मैले हुन्न भनें तर उनले मानिनन् र अन्त्यमा उनले नै पैसा तिरिन्। हामी छुट्टियौं।

घरमा सल्लाह गरेर अर्को दिनबाट उनी पीटीई क्लास ज्वाइन गरिन्। बीच–बीचमा हाम्रो भेट हुन्थ्यो। उनले गर्ने मप्रतिको सम्मान, मेरो बारेमा सोच्ने कुरा देखेर मलाई अचम्म लाग्थ्यो। मैले एक कप कफी गफको लागि अनुरोध गर्दा पनि उनले मलाई धेरै कुराहरू सिकाउँथिन्। पैसाको महत्व, यसरी सधैं चिया, कफी, खाजामा खर्च नगर्नुस्, फजुल खर्च नगर्नुहोस्।

उनको यस्तै सुझाव हुन्थ्यो। संगत त धेरै केटी साथीहरूसँग गरेको थिएँ तर यस्तो धेरै राम्रो सल्लाह दिने मान्छे पोखरामा पहिलो पटक भेटेको थिएँ। उनका हरेक कुराहरू मेरो बारेमा हुन्थे। म भने उनको बारेमा सुन्न चाहन्थें।

उनको यो बानीले मलाई पनि उनीसँग नजिक बनायो। कताकता आफ्नै नजिकको मान्छे जस्तै आभास हुन थाल्यो। यत्तिकैमा उनी आफ्नो पढाइमा व्यस्त हुन थालिन्। म पनि आफ्नै काममा व्यस्त। हाम्रो भेटघाट पातलिंदै कम हुन थाल्यो।

केही महिनाहरू बितेर गए। एकदिन कोठामै सुतिरहेको थिएँ। मोबाइलको घन्टी बज्यो। हेरें उनको कल रहेछ। कताबाट सम्झिछन् त नि आज। मनमनै सोचें र कल उठाएँ। उनले आफू अत्यन्तै अप्ठ्यारोमा परेको भन्दै जसै भेट्न आउन अनुरोध गरिन् मैले हुन्न, आउँदिनँ भन्न सकिनँ।

उनी आत्तिएको जस्तो मानेर म छिट्टै नै उनले भनेको ठाउँमा पुगें तर उनी आउन समय लाग्यो। एकछिन पछि उनी हाँस्दै आइरहेकी थिइन्। मैले अचम्म मान्दै सोधें, ‘किन हाँसेको?’

उनले भनिन्, ‘सरी ल।’

‘किन!’ मैले भनें।

‘झुट बोलेर बोलाएकोले।’

‘हँ!’ म रिसाए जस्तो गरें। उनले भनिन्, ‘यत्तिकै बोलाएको भए हजुरले व्यस्त छु भन्नुहुन्छ कि भनेर हो के’ उनी फेरि हाँसिन्।

‘के काम हो ? छिटो भन।’

‘मलाई बधाई त दिनुस् पहिले।’

यति भन्दा बित्तिकै मैले बुझिहालें। ‘लु बधाई छ’, मैले भनें।

हाँस्दै उनले भनिन्, ‘ल धन्यवाद !’

‘सुन्नुस् न ! म हजुरसँग एउटा कुरा भन्छु नरिसाउनुस् ल, मसँग धेरै समय छैन हतारमै कुरा गरे जस्तो होला।’

मैले ‘हस् रिसाउँदिन, भन न’ भनें।

‘म अब केही समयमा जाँदैछु, अप्ठ्यारो मान्नु हुन्न भने म हजुरलाई पनि केही समयपछि सँगै लैजान चाहन्छु।’

उनको आशय मैले बुझें। मैले भनें, ‘तिम्रो प्रस्ताव राम्रो छ मलाई मन पर्‍यो तर माफ गर मैले देश छाडेर जाने विषयमा सोचेको छैन। तिमीलाई कहाँ के सहयोग गर्नुपर्छ म सधैं तयार छु, तिम्रो लागि मेरो मनमा धेरै माया र सम्मान सदाको लागि रहिरहनेछ। तर यो विषयमा मलाई कर नगर।’

उनको अनुहार कालो र निरसिलो भयो। कस्मेटिक हाँसो ल्याउँदै उनले भनिन्, ‘निराश पार्नुभयो।’

मैले भनें, ‘निराश पारेको होइन, मेरो पनि आफ्ना इच्छाहरू छन्, बुझ्ने कोसिस गर। मैले तिमी जस्तो मान्छेलाई एकपटक भेट्न पाउनु नै ठूलो कुरा हो।’

उनी अरू केही बोल्नै सकिनन् र गफगाफको सन्दर्भ नै परिवर्तन गरिन्। मैले शुभकामना दिएँ, केही रमाइला र केही व्यावहारिक गफगाफ पछि हामी छुट्यौं।

म कोठामा पुगें। मैले त उनी जाने तारिख नै सोध्न भुलेछु। पछि कल गरेर सोधें, उनले बताइन्।

जाने दिन उनको इन्बक्समा शुभयात्रा भनेर म्यासेज गरें। उनी क्यानडा पुगेपछि धन्यवाद भनेर म्यासेज गरिन्। उनी भिडियो कलमा बोल्न चाहन्थिन् तर मैले इन्कार गरें, तर अचम्मको कुरा एकछिन पछि मलाई उनीसँग नबोली मन नै मानेन र कल गरें।

जिन्दगीको गोरेटोमा कोसँग कतिवेला भेट हुन्छ, कतिबेला आत्मीयता आउँछ र कतिबेला छुट्टिनुपर्छ पत्तै नहुने रहेछ।

उनको याद सधैं मेरो मस्तिष्कमा आउनुको कारण उनले मप्रति गरेको सम्मान र प्रेम नै हो। मैले उनको कुरालाई स्वीकार्न नसके पनि उनको प्रेम र सम्मानको लागि सधैं ऋणी नै रहेको महसुस गर्दछु।

अझै पनि म दोधारमा छु, उनले मलाई प्रेम गर्थिन् या मैले गरेको सहयोगको उचित सम्मान गरेकी हुन्  ):