राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गर्नुभएको छ । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गर्नुभयो । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गर्नुभयो ।

सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।

सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गर्नुभएको छ । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।

स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताउनुभयो । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताउनुभयो ।

भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उहाँ सदैव लागिरहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भन्नुभएको थियो । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ ।”