शिक्षकहरूको आन्दोलनले राजधानीको ट्राफिक अस्तव्यस्त

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा काठमाडौंमा आन्दोलनरत शिक्षकहरूको आन्दोलनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

माइतीघर–नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनका कारण राजधानीकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

माइतीघर मण्डलदेखि सुरु भएको आन्दोलनले सडकको दुवैतिर ढाकेर बानेश्वरतिर अघि बढेको छ‚ जसले माइतीघर र बानेश्वर(तीनकुने(कोटेश्वरमा ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।

जामका कारण जडिबुटीदेखि चाबहिलसम्मको ट्राफिक अस्वव्यस्त बनेको छ । यस्तै, तीनकुने, कालीमाटी, बल्खुबाटै ठूला सवारी साधनलाई डाइभर्सन गरिएको छ।

यस्तै, साना सवारी साधनलाई भने नयाँ बानेश्वर, थापाथली, हनुमानस्थान, बबरमहल, बिजुलीबजार लगायतका चोकहरूबाट डाइभर्सन गरिएको छ । डाइभर्सन गरिएको हुँदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्विप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने, गैह्रिगाउँ, नयाँ बानेश्वर पानीट्याङकी, कुपन्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधनको जाम लागेको छ ।

ट्राफिक जाम बढेपछि वैकल्पिक मार्ग प्रयोग गर्दा भित्री गल्ली र करिडोरमा समेत ट्राफिक अस्तव्यस्त बनेको छ । बिरामी बोकेका एम्बुलेन्सहरूसमेत घन्टौँदेखि जाममा बस्नु परेको छ ।