साफ अन्डर १९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु

काठमाडौं । साफ अन्डर १९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि साँझ साढे ५ बजे नेपाल र पाकिस्तानबीचको खेल सुरु हुनेछ ।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । बुधबारै काठमाडौं आइपुगेको पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो ।

यसअघि अन्डर–ट्वान्टी र अन्डर–एटिन फर्म्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेका छन् । नेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र २०१७ मा च्याम्पियन बनेको थियो ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको गोलकिपरमा जियारथ सेख, रुबिन बोगटी र अमित टमटा छन् । त्यसैगरी डिफेन्समा सेमन्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासैनी, दीपक थापामगर, निन्शाङ पाराङ्देन र गौरव महर्जनले खेल्नेछन् ।

मिडफिल्डर कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अविनाश स्याङ्तान, अनिल बोम्जन, धनसिंह विके, हरिषराज भट्ट र नेल्सन तामाङ टिममा पर्न सफल भएका छन्।

नेपाली टिममा फरवार्डको जिम्मेवारी समीर तामाङ, नीरञ्जन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारीले सम्हाल्नेछन । यसपटक नीरज कार्की र निशान्त तामाङलाई खेल बाहिर राखिएको छ ।