न्यायाधीश नियुक्तिको अर्को किस्ताः जिल्लामा ३६ जना अधिकृतले पाए मौका

काठमाडौँ । न्यायपरिषद्ले ३६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ। न्याय परिषदको मंगलबार बसेको बैठकले न्याय सेवा (न्याय, सरकारी वकिल र कानुन समूह)का अधिकृतहरुबाट न्यायाधीश नियुक्तिको निर्णय भएको हो । यीमध्ये एकजना मात्र खुला प्रतिस्पर्धाबाट छानिएका हुन् ।

लोक सेवा आयोगले जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएका छन् । यसरी उत्तीर्ण हुने पारसमणि पोखरेल सर्वोच्च अदालतका इजलास अधिकृत हुन् । उनलाई मोरङ जिल्ला अदालतमा खटाइएको छ ।

संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ।

रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ।

आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो। तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि अब न्याय परिषदले छानेर नियुक्त गरेको हो ।

पछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन्।


मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ। उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो।