कौरा संरक्षणका लागि प्रतियोगिता

कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो ।

डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लव प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लव द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लव तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता थियो ।

संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कौरा नृत्य तनहुँको चिनारी हो ।

यसको संरक्षण गर्दै अहिलेको पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।” विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।

समितिकै आयोजनामा शनिबार डुम्रेमा लाखे नाच प्रतियोगिता सम्पन्न भइसकेको छ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि समितिले लाखे नाच प्रतियोगिता गरेको थियो । प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम हुन सफल भएको छ ।

कूल ३१ समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाइ सांस्कृतिक समूह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, रु २० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए ।