तीज विकृतिबाट मुक्त हुँदै मनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामना समेत दिनुभयो ।

तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो । खानपिन तथा लवाइखुवाइको अनावश्यक तड्कभड्क देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उहाँले भन्नुभयो, “उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।”

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उहाँले स्मरण गर्नुभयो । उहाँले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।