प्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ

काठमाडाैँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।

बालुुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गर्नुभयो ।

खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु । मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ ।”

प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्नुहुने कार्यक्रम रहेको छ । चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ । उक्त प्रतियोसगतामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री दाहालले बिदाइ गर्नुभएको हो । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्नुभयो ।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी छन् ।

नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीको सहभागिता रहनेछ ।

त्यस्तै, फेन्सिङमा छ, फुटबलमा २२, गल्फमा छ, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, करातेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, टेबल टेनिसमा छ, तेक्वान्दोमा ११, टेनिसमा छ, ट्रायथलनमा चार र भलिबलमा २४ खेलाडी सहभागी छन् ।

भारत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ । आज भएको बिदाइ कार्यक्रममा भने विभिन्न १९ खेलका खेलाडीमात्र सहभागी थिए । बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणमा रहेका छन् ।