तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । अधिकारीले डेङ्गु सङ्क्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ ।”

गत वर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताउनुभयो । डेङ्गुबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजभोलि डेङ्गु ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुका लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झूलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

बढी शुल्क लिएको गुनासोपछि अनुगमन

डेङ्गु परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको मङ्गलबार अनुगमन गरिएको छ । दमौली बजारमा सञ्चालित अस्पताल तथा क्लिनिकले डेङ्गु परीक्षणका लागि चर्को शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले डेङ्गु परीक्षण गर्दा बढी शुल्क लिएको गुनासो आएको जानकारी दिनुभयो । सोही विषयमा प्रजिअ छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बढीमा रु छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । डेङ्गु परीक्षण गर्ने किटको औसत मूल्य तथा छिमेकी जिल्लाको अभ्याससमेतलाई दृष्टिगत गरी प्रतिपरीक्षण बढीमा रु छ सयभन्दा बढी शुल्क नलिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताउनुभयो ।

बैठकले डेङ्गु परीक्षणका लागि निर्धारण गरिएको शुल्कभन्दा बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालक जिम्मेवार हुने निर्णय गरेको छ । यसका साथै जिल्लामा डेङ्गु परीक्षण गर्ने किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालयले नियमित रूपमा अनुगमन गरी प्रतिवेश पेस गर्ने निर्णय गरिएको छ । जिल्लामा डेङ्गु रोग बढ्दो क्रममा रहेको हुँदा रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायहरूले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको छ ।