चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण्डको सजाय

काठमाडाैँ।चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।

सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उनले ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानुनी रूपमा लिएको स्वीकारेका थिए ।

उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ ।

फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।