एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको छ भन्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो “वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।” उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गर्नुभयो ।

पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उहाँले दाबी गर्नुभयो ।