सुन तस्करी प्रकरणको सेलाउन नपाउदैँ विमानस्थलबाट गाँजाचरेस बाहिरिने गरेको तथ्य फेला

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणको सेलाउन नपाउदैँ ठिक यही बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा उत्पादित लागुऔषध गाँजाचरेस बाहिरिने गरेको तथ्य फेला पारेको छ ।

गएको साउन २६ गते नेपाल एयरलाइन्सको विमानमार्फत गाँजा र चरेस हङकङ पुर्‍याइएको खुलेको हो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नै गाँजा र चरेस हङकङ पुर्‍याइएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

हङकङ प्रहरीले उक्त गाँजाचरेस नियन्त्रणमा लिएपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो । साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाली अधिकारीलाई जानकारी गराएको हो ।

नेपालबाहिर पठाइने कार्गोको साम्रगी ‘चेकिङ’मा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ । हङकङमा बरामद गाँजाचरेस त्रिभुवन विमानस्थलबाट कसरी सजिलै बाहिरियो भन्नेबारे ब्युरोले आन्तरिक छानबिन सुरु गरेको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको ब्युरो स्रोतले जानकारी दिएको छ ।

को–को थिए कार्गोका सामग्री चेकिङमा ?
ब्युरो स्रोतका अनुसार साउन २६ गते वरिष्ठ सई निरन्जन पनेरुले कार्गो चेकिङको नेतृत्व गरेका थिए । प्रहरी सहायक निरीक्षक ९असई०द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत समेत त्यहाँ खटिएका थिए । पनेरुकै संलग्नतामा गाँजाचरेस बाहिरिएको आशंका गरिएको छ ।

विराट ग्लोबल प्राइभेटका सञ्चालकसँग पनेरुको सम्बन्ध रहेको खुलेको स्रोतले बतायो । कार्गोमार्फत गाँजाचरेस पठाउँदा वरिष्ठ सई पनेरुले नै सहजीकरणका लागि निर्देशन दिएको ब्युरोको प्रारम्भिक छानबिनमा देखिएको छ ।

पनेरु विगत नौ वर्षदेखि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् । उनी यसअघि समेत विवादमा मुछिएका प्रहरी कर्मचारी हुन् । त्यति बेला उनलाई २ नम्बर प्रहरी गण ९सामाखुसी०मा तानिएको थियो । शक्तिकेन्द्रको दबाबमा उनी पुनः सोही ब्युरोमा फर्किएका हुन् ।

ब्युरोको प्रारम्भिक छानबिनका क्रममा किताबका रूपमा ‘प्याकिङ’ गरेर गाँजाचरेस तस्करी गरिएको देखिएको छ । त्यसलाई बिनाचेकिङ पठाइको समेत खुलेको छ ।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले सो घटना भएको पुष्टि गरे । तर, त्यसबारे अहिले नै केही बोल्न नमिल्ले उनले बताए ।