युवा स्वरोजगार प्रदेश सरकारको महत्वकाङ्क्षी योजना

काठमाडाैँ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकाङ्क्षी योजना भएको बताउनुभएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आइटी एजुकेशन तथा करिअर प्लानिङ’ कार्यक्रममा योजनामन्त्री सिंहले युवा स्वरोजगारमार्फत कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले कर्णालीको उद्यमशीलता, उत्पादनसँग जोडेर वार्षिक १० हजार युवालाई स्वरोजगार बनाउने महत्वकाङ्क्षी आयोजना ल्याएको छ ।

यसका लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।” त्यसैगरी ७९ पालिका रहेको कर्णालीका सात सय १८ वटा वडा लक्षित गरेर ज्ञान र सीप प्राप्त गरेका युवालाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गर्ने कार्यक्रम भएकाले ऐन, नियमावलीसँगै कार्यविधि बनाउने तयारीमा जुटिएको मन्त्री सिंहले बताउनुभयो ।

शिक्षाको गुणस्तर वृद्धि गर्न लगानी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसमा गरिने लगानी व्यवस्थित हुने खालको नीति आवश्यक रहेको जनाउनुभयो ।

कर्णालीको आर्थिक समृद्धिका लागि कृषिमा क्रान्ति आउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारी तथा सुर्खेतका नगर शिक्षा प्रमुख धीरेन्द्र शर्माले प्रविधि र शिक्षालाई सँगसँगै लिनुपर्नेमा जोड दिनुभयो ।

आजको दुनियाँ सूचना र प्रविधिबाट टाढा हुन नसक्ने भन्दै शिक्षा सूचना र प्रविधिमैत्री हुन आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।