प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुन्छ : मन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठले प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुने बताउनुभएको छ ।

सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा आज ललितपुरमा आयोजित ‘विधागत पत्रकारिता’ पुस्तक विमोचन समारोहमा उहाँले भन्नुभयो, “नेपालको संविधानबमोजिम बनेका प्रादेशिक संरचनालाई सृजनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ । यहाँको उत्पादकीय क्षेत्रमा बागमती प्रदेश सरकारबाट आगामी दिनमा पनि सिर्जनात्मक काम भइरहने छन् । प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुन्छ ।”

मन्त्री श्रेष्ठले प्रकाशित “विधागत पत्रकारिता“ पुस्तकले नेपालको सञ्चार क्षेत्रमा अलग्गै स्थान राख्ने भन्दै जिज्ञासु र उत्सुक पत्रकारहरूका लागि यो महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सबै लेखकहरूका लेखक र अनुभवहरूलाई समेटेर १९ वटा विधामा प्रस्तुत सामाग्री महत्त्वपूर्ण भएको बताउनुभयो । ज्ञान उत्पादनका लागि निरन्तरको मेहनत त धैर्य आवश्यक हुन्छ भन्दै उहाँले पत्रकार ज्ञान उत्पादन गर्ने बौद्धिक श्रमिक हुन् भन्ने धारणा व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाले सञ्चार क्षेत्रको व्यापकताका लागि बागमती प्रदेशमा मन्त्रालय नै छुट्टै हुन आवश्यक हुने बताउनुभयो । उहाँले सञ्चार रजिस्ट्रारको कार्यालयले गरेको काम महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।

लेखक तथा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिताका धेरै विधाहरू रहेको तर समाचार कक्षले पचाउन नसकिरहेको बताउनुभयो । “यो पुस्तक सातै प्रदेशमा पु¥याउन सक्दा राम्रो हुन्छ । पुस्तकमा नसमेटिएका कुराभन्दा पनि समेटिएका कुरालाई सकारात्मकरूपमा लिएर त्यसलाई ग्रहण गर्दै अगाडि बढ्नुपर्छ । विशेषज्ञको अनुभवलाई सर्वसाधारणसम्म पु¥याउन यो पुस्तक महत्त्वपूर्ण छ”, प्राध्यापक रेग्मीले भन्नुभयो ।

उहाँले पत्रकारिताको शिक्षण गर्ने र सिक्ने कार्यका लागि यो किताब महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले यो किताबको अध्ययनबाट सिर्जनशील व्यक्तित्वमा छुटेका कुरा देश र प्रदेशको आवश्यकताअनुसार खोज्ने जाँगर आउँछ भन्दै यो किताब उपयोगी पुस्तकको रूपमा महत्त्वपूर्ण भएको बताउनुभयो ।

पुस्तकमा लेख लेख्नुहुने सुरेश आचार्य, कुबेर चालिसे, बद्री प्रकाश ओझा, नितु पण्डित, दीपक सापकोटा, डा श्रीराम पौडेललगायतले पुस्तक र विधागत पत्रकारिताका बारेमा धारणा राख्नुभएको थियो ।

सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पुस्तक पत्रकारितामा अध्ययन गरिरहेका, अभ्यास गरिरहेका सबैलाई उपयोगी हुने धारणा राख्दै सञ्चार रजिस्ट्रारको कार्यालयले अभाव भएका स्थानमा काम गर्ने काम गरेको बताउनुभयो । उहाँले अरु थप केही विधागत विषय लेख्नका लागि जिम्मेवारी पाएका व्यक्तिहरूले जिम्मेवारी निर्वाह नगरी अन्तिममा धोका दिएका कारण समेट्न नसकेको बताउँदै आगामी दिनमा यस्ता समस्या र कमजोरीलाई समाधान गरेर जाने धारणा राख्नुभयो ।