आफै सरकारमा बसेर प्रचण्ड कसका विरुद्ध जनता उतार्ने धम्की दिँदै छन् ?

काठमाडौं। सन्देश सभाको नाममा आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्दै सबै प्रदेश डुलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुर्खेत पुगेर बर्खापछि लाखौँ जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् । सरकार ढाल्ने अनेक प्रपञ्च भइरहेको भन्दै मोर्चाले सरकारविरोधिलाई तह लगाउने उद्घोष उनले गरेका हुन् ।

समाजवादी मोर्चाका नाममा हुने यसअघिका कार्यक्रममा केही सैद्धान्तिक विषयमा केन्द्रित हुने नेताहरुले बिहीबार सुर्खेतको भेलाबाट लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएर सरकार संकटमा रहेको जनाउ दिएका छन् । प्रचण्डले समाजवादी मोर्चा आफूलाई शक्तिशाली देखाउन ब्याकअपफोर्सका रुपमा गठन गरेको बुझ्न गाह्रो छैन । जसन्तर्गत बिहीबार उनी सुर्खेत पुगे ।

मोर्चाका सहयात्रीसँगै उनले सुर्खेतमा भेलालाई सम्बोधन गर्दै पुराना अजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भन्दै नयाँ सोच, नयाँ विचार र नयाँ अजेन्डाका साथ समाजवादी मोर्चा अघि बढाउन सरकार र सडकबाट जनताको आन्दोलन एकैसाथ अघि बढाउने तयारी गरिरहेको दाबी गरे ।

विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको र बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने उनको भनाइ थियो । उनले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने चेतावनी पनि दिए । सरकारले मात्र गर्ला र खाउँला भनेर बसिरहे केही नहुने पनि उनको टिप्पणी थियो ।

सरकारको नेतृत्व गरिरहेका दाहालले जनतालाई सडकमा उतार्ने चेतावनी दिइरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उनलाई ढाडस दिँदै थिए। एमसीसी लगायतका विषयमा समाजवादी मोर्चाकै घटक विभाजित देखिएको बेला उनले समाजवादी मोर्चाकै कारण सरकार ढल्छ कि भन्ने हल्ला चलाए पनि त्यो सत्य नभएको जिकिर गरे ।

मधेस प्रदेशबाट सुरु गरेको सन्देश सभा लिएर समाजवादी मोर्चाले सबै प्रदेशका लागि कार्यक्रम तय गरेको छ । बुधबार भने एमसीसीलाई लिएर मोर्चाभित्र विवाद उत्पन्न भएपछि सुदूरपश्चिमको धनगढीमा आयोजित सभा स्थगित गरिएको थियो । मोर्चाभित्रै धाँजा फाट्न थालेपछि प्रचण्ड केही अत्तालिएका थिए । बुधबार विभिन्डिएका मोर्चाका सहयात्री रातारात सुर्खेतको कार्यक्रममा आउन सहमत भए पनि उनको प्रस्तुति भने असामान्य छ ।