करोडौं खर्च गरेर प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई किन बनाइयाे भैंसेपाटीमा आवास?

काठमाडाैँ।सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि बनाएको ललितपुरस्थित भैंसेपाटी सैंबुमा रहेको आवास तथा सम्पर्क कार्यालय आइतबार हस्तान्तरण गर्‍यो।

ललितपुरको भैंसेपाटीमा आवास तथा कार्यालय बनाइएको हो। संघीयताको अभ्यास भइरहे पनि मुख्यमन्त्री र प्रदेश प्रमुखलाई उपत्यकामै आवास उपलब्ध गराएर ठिक उल्टो अभ्यास सरकारले गरेको भन्दै आलोचना भइरहेको छ।

करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनको उद्घाटनका लागि आइतबार भैंसेपाटीमा मन्त्रीहरूको लर्को नै लागेको थियो।शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता मन्त्री सीता गुरुङले गरेकी थिइन्।प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको अवास तथा सम्पर्क केन्द्रको रूपमा आयोजना निर्माण गरिएको हो।

भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए ।

२७ रोपनी १२ आनामा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । प्रत्येक ब्लकमा रहेका दुईवटा इकाई प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि हुनेछ ।

सबै भवन तीन तलाका छन् । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि मासिक ७ लाख रुपैयाँ भाडामा लिएर प्रयोग गर्न दिएको छ । अब उनीहरु भैंसेपाटी सर्नेछन् ।

कतिपयले प्रदेशका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् भने कतिको धारणा प्रदेशमा समेत यत्तिको सुविधासम्पन्न आवास नभएका बेला काठमाडौंमा अनावश्यक भवन बनाएर खर्च बढाइएको टिप्पणी गरेका छन्।

कूल सात वटा डुप्लेक्स छन्। जसअनुसार एउटा भवनलाई विभाजन गरेर एकातिर मुख्यमन्त्री र अर्कोतिर प्रदेश प्रमुखको लागि व्यवस्था गरिएको छ। एउटा मात्रै भवन बनाउन झन्डै १२ करोड खर्च भएको महर्जनले बताए। पहिलो तलामा रिसेप्सन,सचिवालय र मिटिङ हलका लागि व्यवस्था गरिएको छ भने दोस्रोमा निवास, अध्ययन कक्ष, योगा र भान्छा कोठा छ। तेस्रो तलामा पाहुना कक्ष राखिएको छ।

निर्माणको ठेक्का ०७६ असोज २७ मा भएको थियो । यसको ठेक्का केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा लिएको हो। आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।