प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने,के–के हुन् भ्रमणका एजेन्डा ?

काठमाडाैँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् ।

प्रचण्डले आफ्नो चीन भ्रमणका दौरान हुने छलफलका एजेन्डाका विषयमा संसदमा बोलेका छन् । प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उचाइमा पुर्‍याउने बताएका छन् । हिजाे प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको मुख्य विषय नै दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेतर्फ केन्द्रित हुने बताएका हुन् ।

संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले चीन भ्रमणका प्राथमिकता र एजेन्डामाथि राखेका प्रश्नको जवाफ दिने क्रममा उनले देशको सम्बन्ध र यसअघिका भ्रमणमा भएका सम्झौता कार्यान्वयनको विषयमा जोड दिने बताए ।

यस्तै, नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहने प्रधानमन्त्रीको भनाई छ । यसबाहेक, नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत प्रधानमन्त्री दाहालको भनाई छ ।

‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाइ थप उचाइमा पु¥याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ,’ प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा भने, ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ ।’

हालसम्म नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार सम्झौता भएको छैन । नेपाल र भारतबीच मात्रै अन्तर्देशीय बिजुली व्यापार भइरहेको छ । यस्तै, बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली बेच्ने सम्झौताको तयारी हुँदै छ । यसैबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग समेत बिजुली खरिद–बिक्री सम्झौता सम्पन्न भए उत्पादित बिजुली बेच्ने थप बाटो खुल्नेछ ।

यसैगरी सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने उनको भनाइ छ ।

प्रधानमन्त्रीले चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमासमेत छलफल हुने बताए ।