भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरी विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको हो । सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र संस्थागत अपराध मूल समस्या रहेकाले सार्वजनिक महत्वका कैयन विषय उठान हुन नसकेको उल्लेख गर्दै यसलाई निर्मूल गर्र्दै जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले देशैभर भेन्टिलेटर, हेमोडाइलासिस मेसिन, अल्ट्रासाउण्ड मेसिनलगायत दुई सय ३३ महँगा स्वास्थ्य उपकरण बेवारिसे अवस्थामा रहेको तथ्य सार्वजनिक भएको भन्दै निश्चित उद्देश्य र व्यवहारिक प्रक्रिया पु¥याएर खरिद गरिएका उपकरण किन बेवारिसे अवस्थामा पु¥याइए सदनलाई जवाफ दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले यस्ता उपकरण बेवारिसे बनाउने दोषीलाई कारबाही गर्न पनि माग गर्नुभयो । सांसद बिना जैसवालले यही भदौ ६ गते सङ्घीय संसद् सचिवालयविरुद्ध परेको रिट निवेदनको हकमा सङ्घीय सरकार र प्रदेश सरकारको निर्वाचन क्षेत्रमा विनियोजन बजेट सम्बन्धित कार्यक्रम कार्यान्वयन नगर्न दिएको सर्वोच्च अदालतको आदेश स्वागतयोग्य रहेको भन्दै यसले सङ्घदेखि स्थानीयतहसम्म हुने सम्भावित अनियमितताको जोखिम रोक्न सहयोग पुग्ने दाबी गर्नुभयो ।

राष्ट्रिय जनावार गाईको हत्या गर्ने र सनातन धर्मको अपमान भइरहेको भन्दै उहाँले यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभयो । जसपाका प्रमुख सचेतक प्रदीप यादवले उद्योगीले विद्युत् प्राधिकरणलाई ‘डेडिकेटेड र ट्रक लाइन’को विद्युत् महसुलवापतको अर्बौ रकम नबुझाएको भन्दै वक्यौता उठाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ठूला औद्योगिक घरनाले करिब रु १० अर्ब १४ करोड रकम बक्यौता नबुझाएको बताउनुभयो । सांसद अम्मरबहादुर थापाले नेपाललाई समृद्ध बनाउन भ्रष्टाचार र तस्करीको अन्त्य गरी सुशासन प्रवद्र्धन गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भ्रष्टाचारी र तस्करीलाई तह लगाएर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सरकारले विशेष पहल कदमी लिनुपर्ने धारणा राख्नुभयो । सांसद अब्दुल खानले इञ्जिनियरिङ अध्ययनका लागि शुल्क महङ्गो भएकाले विद्यार्थी माइतीघर सडकमा सङ्घर्षरत रहेको भन्दै उक्त समस्या यथाशक्य छिटो समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खानले कम्पुटर शिक्षा अध्ययन र अध्यापन गर्ने पेसाकर्मी आर्थिक पीडामा रहेको भन्दै कम्प्युटर शिक्षासम्बन्धी दरबन्दी सिर्जना गर्न माग गर्नुभयो । उहाँले सिरहाको राजापुरस्थित गौशाला जीर्णअवस्थामा रहेको भन्दै मर्मत सम्भारका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद अरुणकुमार चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया सडक खण्ड जीर्ण अवस्थामा रहेको भन्दै सडक स्तोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवालले तराईका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि अतिक्रम गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार हालै सांसदहरुको टोली कञ्चनपुरको दोधारा चाँदनी र टनकपुरको स्थलगत निरीक्षणका क्रममा दोधारा चाँदनीको सुन्दर नगरको ७०६ नम्बरको स्तम्भमा पुग्दा भारतीय दुई सुरक्षाकर्मीले सोधपुछ गरेको बताउनुभयो ।