गाउँ पर्यटनमा आधारित नियात्रा ‘बादडलडाँडा’को लोकार्पण

नियात्राकार राजेन्द्रमान डङ्गोलको चौथो नियात्राकृति ‘बादलडाँडा’ आज लोकार्पित भएको छ ।

पर्यटन व्यवसायमा समेत संलग्न लेखक डङ्गोलले नेपालका विभिन्न ग्रामीण क्षेत्रमा आफू र सहयात्रीहरूसँग विभिन्न समयमा गरेका यात्रा, अनुभव र संस्कृति अध्ययनका आधारमा सो कृति तयार गर्नुभएको हो । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको सो कृतिको आज पगाउँ नेपाल पर्यटन मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी, समालोचक प्रा रमेशप्रसाद भट्टराईलगायतले विमोचन गर्नुभएको हो ।

सदस्यससचिव सुवेदीले नेपालमा हरेक क्षेत्रका ओझेल ग्रामीण पर्यटकीयस्थलबारे यसखालका लेखनी र नियात्रा प्रकाशन गर्न सकेमा पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने बताउनुभयो । समालोचक भट्टराईले पाठकलाई यात्रामा आफूसँगै हिँडाउन सक्ने सामथ्र्य डङ्गोलमा भएको बताउनुभयो ।

समीक्षक डा विन्दु शर्माले समाज, संस्कृति र जनजीवनलाई मसिनो गरी नियात्राले उतारेको टिप्पणी गर्नुभयो । समीक्षक राम लोहनीले शिल्प संरचनाका दृष्टिले कृति मौलिक रहेको धारणा राख्नुभयो । यसअघि डङ्गोलका ‘यात्राका पाइला’, ‘पैतालामा हिउँ’ र ‘आँखामा हिमाल’ नियात्राकृति प्रकाशन गरिसक्नुभएको छ ।