मिथिलामा झुलनोत्सवको मौसम

चन्द्रमास गणनाको साउन शुक्लपक्षका पछिल्ला १३ दिन मधेस प्रदेशका प्राचीन मिथिलाक्षेत्रमा झुलनोत्सवको रौनक छाउँछ । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्मका १३ दिन यस क्षेत्रका मठ, मन्दिरमा झुलनोत्सव मनाइने परम्परा छ । यही झुलनोत्सवको अहिले मिथिलामा रौनक छ ।

‘राम झुलै, सीया झुलै, झुलै राधाप्यारी,
सावनमें मस्त झुलै किशन मुरारी...!’

(श्रीराम झुल्छन्, सीताजी भुल्छिन्, त्यसैगरी राधा र श्रीकृष्ण पनि साउनमा झुल्दछन्) झुलनोत्सवमा गाइने गीत र कीर्तन कति हुन् कति ! भगवान् विष्णु र देवी लक्ष्मीको आराधना गरिने यो पर्वमा प्रत्येक दिन साँझ विष्णुअवतार मानिने श्रीराम र लक्ष्मी अवतारकी देवी सीता तथा श्रीकृष्ण र राधाका प्रतिमालाई डोला (एक प्रकारको कोक्रा) मा राखेर झुलाइने यो पर्वलाई झुलनोत्सव भनिने गरिएको हो । सम्पूर्ण प्राचीन मिथिलाक्षेत्र अहिले झुला उत्सवमा मग्न देखिन्छ ।

मिथिलाको मुख्य केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजना हुने झुला उत्सवमा सहभागी हुन टाढाटाढाबाट भक्तजन दिनहुँ पुग्दैछन् । त्यसैगरी अहिले महोत्तरीको मटिहानीस्थित झुलाघरमा झुलनोत्सवको रौनक छ । मुलुकभरिका मठको नायक मानिने श्री लक्ष्मीनारायण मठको आयोजनामा हुने यस मठमा अहिले झुलनोत्सवका लागि मिथिला क्षेत्रका विभिन्न मठ र मन्दिरबाट श्री विष्णु/लक्ष्मी, श्रीराम/सीता र श्रीकृष्ण/राधाका प्रतिमा ल्याइएका छन् । प्रत्येक साँझ लक्ष्मीसहित श्री नारायणका प्रतिमा विशेष प्रकारले सजाइएका डोलामा राखेर साधुसन्त र सर्वसाधारणले पालैपालो हल्लाउँछन्झु/लाउँछन् । मध्य बर्खाकालमा पर्ने यो पक्षमा श्री विष्णु/लक्ष्मी झुलाइँदा पूण्य प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ ।

श्री लक्ष्मीनारायण मठपरिसरमै श्री लक्ष्मीनारायणको मन्दिर छ । प्रत्येक साँझ साधुसन्त र सर्वसाधारणसहित सम्मिलित टोलीले स्वर्णजडित डोलीमा श्री विष्णु/लक्ष्मीका प्रतिमा राखेर पालैपालो बोक्दै करिब सय मिटर दूरीको झुलाघरमा पु¥याउँछन् । अनि प्रतिमा त्यहाँको विशेष प्रकारले सजाइएको झुला (कोक्रो) मा राखेर शृङ्गारिक भक्ति गीत र कीर्तन गाउँदै साधुसन्त र सर्वसाधारणले हल्लाउँछन् ।

प्राचीन मिथिलाक्षेत्रमा मधुश्रावणी पर्व समापनसँगै सुरु हुने झुलनोत्सव पनि प्रगाढ प्रणय सम्बन्धकै भावमा मनाइने पर्व रहेको मिथिला परम्पराका ज्ञाताको भनाइ छ । पतिपत्नीबीच प्रणयसम्बन्धकै प्रगाढताको कामनासाथ नवविवाहिता मिथिलानीले मनाउने मधुश्रावणीमा शिव, पार्वती र विषहरा (नाग) को आराधना हुन्छ भने झुलाउत्सवमा श्री विष्णु/लक्ष्मी झुलाइन्छन् । यसरी झुलाइँदा विष्णुसँग लक्ष्मी, श्रीरामसँग सीता र श्रीकृष्णसँग राधाको आपसी समर्पण र प्रेमपूर्ण भावका गीत/कीर्तन गाइन्छन् ।

यसै पर्वमा भर्खरै किशोरावस्था पार गरेका युवायुवती आम्रकुञ्ज (आँप बगैँचा) मा साउन महिनाको महिमा गान गर्दै पिङ झुल्ने गर्दछन् । मिथिलानी सखीबीच हुने गीति संवादले पनि साउनलाई प्रणय प्रगाढताको मौसमकै रुपमा चित्रण गरिएको प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।