पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती

काठमाडाैँ। थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो ।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा जानुभएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो ।

निर्वाचित नेता उहाँलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उहाँविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् । दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार बिहान ९ः०० बजे राजधानी व्याङ्ककमा अवतरण गर्नुभएका उहाँको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए ।

नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए । आफ्ना दुई छोरी र छोराको साथमा उहाँ विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्कनुभयो र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसपछि उहाँलाई सर्वोच्च अदालत लगिएको थियो । उहाँलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ ।