श्रमिकको तलब दुई वर्षमा २ हजार ३०० ले बढ्दा निजी क्षेत्रको टाउको दुखाइ

काठमाडाैँ।श्रमिकको न्यूनतम पारिश्रमिक दुई वर्षमा दुई हजार तीन सय रुपैयाँले बढाउँदा निजी क्षेत्रको टाउको दुखाइ बनेको छ । यो बीचमा महँगीले आकाश छायो, सरकारी कर्मचारीको तलब बढ्यो । तर, मजदुरको तलब बढेको थिएन ।

सरकारले १ साउनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम तलब १७ हजार तीन सय बनाएको छ । यसमा पनि आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ हो । यसरी श्रमिकको दैनिक पारिश्रमिक जम्मा ६६८ रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार तीन सय मात्र थियो ।

तर, नेपाल उद्योग परिसंघ (सिएनआई)ले पारिश्रमिक बढाइनु गलत भएको बताएको छ । सिएनआईले प्रेस विज्ञप्ति जारी गरी उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन लगायत कारण निजी क्षेत्रको मनोबल घटेका बेला सरकारले श्रमिकको पारिश्रमिक बढाएको भनेको छ । तर, यो बीचमा उद्योग व्यवसायीले नै वस्तुभाउमा गरेको मुल्यवृद्धिबारे बोलेको छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ । अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगले कसरी थेग्ने ?’

पारिश्रमिक बढ्दा निजी क्षेत्रले विरोध गर्नुको मुख्य कारण सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउनुपर्ने व्यवस्था भएपछि हो ।

चिया बगानका श्रमिकको तलब १२ हजार ८९३ मात्र तर, चिया बगानका श्रमिकको मासिक पारिश्रमिक निकै कम छ । उनीहरुको मासिक तलब १३ हजार ८९३ रुपैयाँ पुगेको छ ।यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो ।