एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको छ भन्नुभयो ।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”

महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गर्नुभयो । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा बोल्नुभएको थियो ।