निर्माण व्यवसायीले ५० अर्ब कहिले पाउँछन्, राजस्व कम उठेको देखाएर सरकारले रोक्यो भुक्तानी

काठमाडाैँ।निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपकरण प्रदर्शनसहित धर्ना दिइरहेका छन् । निर्माण व्यवसायीले ५० अर्ब भुक्तानी नपाएपछि आन्दोलनमा छन् ।

राजस्व संकलन न्यून रहेको कारण देखाउदै सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् ।यसअघि नै महासंघले पत्रकार सम्मेलन गरी ५० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी भएको बताएको थियोमहासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

वैशाखमा निर्माण व्यवसायीको बक्यौता ७० अर्ब रुपैयाँ पुगेकोमा असारमा सरकारले केही भुक्तानी गरे पनि अझै काम र प्रक्रिया फत्ते भइसकेकाको हकमा भुक्तानी अड्किरहेको सिंहको भनाइ छ।
अर्काे समस्या ४ खर्ब स्रोत सुनिश्चित गरिएका तर बजेट विनियोजन नगरिएका योजनाहरू छन् । तिनको सरकारले व्यवस्थापन गर्नु पर्ने माग छ । खासगरी सरकारले विकासका आश्वासन दिने तर स्रोत व्यवस्थापन गर्न नसक्ने समस्या स्थानीय अस्पताल तथा सडक निर्माणमा धेरै देखिएको छ ।

ढुकुटीमा पैसा नभएका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताएका छन् । उनले राजस्व वा वैदेशिक ऋण लक्ष्य अनुसार प्राप्त नहुनेजस्ता कारणले भुक्तानीमा समस्या भएको बताएका हुन् । ‘वैदेशिक ऋण कुनै शर्तका कारणले रोकियो भने त्यो पैसा आउँदैन । अनि, पेमेन्ट गर्न पाइदैन’ उनले भने, ‘अंकमा पैसा देखिन्छ । साँच्चिकै पैसा चाँहि हुँदैन, त्यो पनि अनेक गरेर फुकाउँदा जेठ, असार नै हुन्छ ।’


अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आयोजना गरेको कार्यक्रममा उनले भने, `ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन’ उनले भने, ‘ त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।